पाँच वर्षपछि राम्रो मूल्यमा अलैँचीको कारोबार

अलैँची

ताप्लेजुङ: ताप्लेजुङमा यसवर्ष विगत पाँच वर्ष यताकै राम्रो मूल्यमा अलैँचीको कारोबार भएको छ । पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको अलैँचीको मूल्य यो वर्ष विगत पाँच वर्ष यताकै राम्रो अर्थात बढी मूल्यमा कारोबार भएको हो ।

यसवर्ष अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थाल्दादेखि नै तुलनात्मक रुपमा राम्रो मूल्यमा कारोबार भएको थियो । सुरुमा अलैँची प्रतिमन (४० किलोग्राम) ३२ देखि ३५ हजार रुपियाँ सम्ममा कारोबार हुँदा मूल्य सन्तोषजनक भएको भन्दै किसान तथा व्यवसायी उत्साहित भएका थिए । निरन्तर घटिरहेको अलैँचीको मूल्य यो वर्ष सुरुमै वृद्धि भएर पछि मुख्य सिजनमा पनि राम्रै मूल्यमा कारोबार हुँदा स्थानीय किसान तथा व्यवसायीमा थपिएको उत्साह कायम रहन पाएको छ ।

यसरी जिल्लाकै प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको यसवर्षको मूल्य विगत पाँच वर्ष यताकै राम्रो भएको बताइएको छ । फुङ्लिङ बजारका स्थानीय व्यवसायी दिनेश अधिकारीले यो वर्ष अलैँची कारोबारको मुख्य सिजन पुस महिनामा प्रतिमन ४६ हजार रुपियाँ सम्ममा कारोबार भएको बताउनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका अधिकारीका अनुसार पछिल्लो केही वर्षयता कारोबार भएको अलैँची मूल्यको तुलनामा यो वर्ष प्रतिमन १८ देखि २० हजार रुपियाँले बढी हो ।

व्यवसायी अधिकारीले हिजोआज अलैँचीको मूल्य केही घटे पनि स्थानीय बजारमा प्रतिमन ३९ हजार रुपियाँ सम्ममा कारोबार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार गतवर्ष प्रतिमन २२ देखि २६ हजार रुपियाँ सम्ममा अलैँचीको कारोबार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा प्रतिमन २४ देखि २८ हजार रुपियाँ र २०७५/७६ मा २० देखि २५ हजार रुपियाँसम्ममा अलैँची कारोबार भएको थियो । आव २०७४/७५ मा २६ हजार र २०७३/७४ मा प्रतिमन ४२ हजार रुपियाँ सम्ममा अलैँची कारोबार भएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको तथ्याङ्क छ ।

आजभन्दा पाँच वर्षअघि अर्थात् आर्थिक २०७२/७३ मा ताप्लेजुङमा अलैँची प्रतिमन एकलाख पाँच हजार रुपियाँ सम्ममा कारोबार भएको तथ्याङ्क छ । तथ्याङ्कअनुसार आव २०७१/७२ मा पनि प्रतिमन ९० हजार रुपियाँ सम्ममा अलैँचीको कारोबार भएको थियो । अलैँची प्रतिमन एक लाख रुपियाँ हाराहारीमा कारोबार हुँदा–हुँदै मूल्य ह्वात्तै घटेको र पछिल्लो पाँच वर्षसम्म निरन्तर घटेको अलैँची व्यवसायीको भनाइ छ । यो वर्ष भने भुटान, भारतको सिक्किम, आसाम राज्य लगायतमा उत्पादन घटेपछि नेपालमा उत्पादित अलैँचीको मूल्य वृद्धि भएको व्यवसायी बताउँछन्। यता यसवर्ष मूल्यवृद्धिसँगै जिल्लामा अलैँची उत्पादन वृद्धि भएकाले किसान तथा व्यवसायीले राम्रै फाइदा लिएका छन् ।

कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका अनुसार गत वर्षभन्दा यसवर्ष अलैँची उत्पादन वृद्धि भएको छ । जिल्लामा अलैँची खेती गरिएको चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट यो वर्ष दुईहजार ९८० मेट्रिकटन उत्पादन भएको छ । गतवर्ष सोही क्षेत्रफलमा दुई हजार ९६० मेट्रिकटन मात्र अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गोरखापत्र अनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?