आलु अनुसन्धानको केन्द्र बन्दै कुशादेवी : टिस्यु कल्चर प्रविधिबाट बीउ उत्पादन

tissue culture

बनेपा: काभ्रेको पनौती नगरपालिका–३, कुशादेवी आलु अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ । केही वर्षदेखि स्थानीय कृषक राजेन्द्र थापा, शशी अधिकारी, दीपेन्द्र थापा र आलुविज्ञ श्यामप्रसाद ढकालले विभिन्न जातका आलुको अनुसन्धान गरी पूर्व मूल बीउ आलु उत्पादन (पीभीएस) गर्न टिस्यु कल्चर प्रयोगशाला स्थापना गरेसँगै यो क्षेत्र आलु अनुसन्धान केन्द्रका रूपमा परिचित हुँदै गएको हो । लामो समयदेखि आलु खेतीमा लाग्नुभएका राजेन्द्र, शशी र दीपेन्द्रले चार वर्षअघि आलुको पूर्व मूल बीउ उत्पादनका लागि टिस्यु कल्चर प्रयोगशाला स्थापना गर्नुभएको थियो ।

“हामीले नेपालको रैथाने र विभिन्न देशबाट आलुका केही दाना ल्याएर आलुबारे अनुसन्धान गरी बीउ उत्पादनमा लागेका छौँ,” कृषक शशी अधिकारीले बताउनुभयो । उहाँले सरकारबाट सिफारिस भएका जनकदेव, कार्डिनल, डिजिरे, खुमल रातो, खुमल उपहार, खुमल विकास, खुमल सेतो, खुमल उज्ज्वल जातको आलुमा अनुसन्धान गर्दै बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो ।

“हामीले नेपालका साथै बैजनी, बाहिर रातोभित्र रातो, बाहिर कालोभित्र पनि कालो भएको आलुको साथै एमएस ४२.३ (नीलो), रोजिटा, आईपीवाई आठ, विभिन्न आठ जातका चाइनिज आलु, अमेरिकन आठ जातका साथै नेदरल्यान्डका १० नयाँ जातका आलुको अनुसन्धान गरी बीउ उत्पादनमा लागेका छौँ,” अधिकारीले थप्नुभयो ।

अर्का किसान राजेन्द्र थापाले पनौती लोकल जातको आलु पूर्व मूल बीउ उत्पादन (पीभीएस) गरी भाइरस क्लिन गरिएको बताउनुभयो । “हामीले पनौती लोकलका साथै बैजनी (पर्पल) आलुसमेत पीभीएस गरी भाइरस क्लिनका रूपमा परीक्षण गर्न बाँकी रहेको छ,” थापाले भन्नुभयो ।

उहाँले यस वर्ष आफ्नो प्रयोगशालाबाट ताप्लेजुङ, पोखरा, काभ्रेको पाँचखाल, मण्डनदेउपुर, चितवन, मकवानपुरको दामन, ललितपुरलगायतका स्थानमा वैजनी रङको आलुको बीउ पठाइएको बताउनुभयो । उहाँले वैजनी रङको आलु सरकारको सिफारिस र उन्मोचित जातमा समावेश नगरिएको बताउनुभयो । कृषक थापाले कुनै पनि जातको आलु सिफारिस हुन तीन वर्षसम्म लगातार विभिन्न स्थानमा अनुसन्धान गर्नुपर्ने कानुनी प्रावधान रहेकाले आफूहरूले उत्पादन गरेको मूल बीउको आलुको पनि विभिन्न स्थानमा अनुसन्धान भइरहेको बताउनुभयो ।

कृषक अधिकारीले आफूहरूले काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आगामी वर्षदेखि एयरफोनिक (हावा)को प्रविधिबाट आलु उत्पादनको नयाँ प्रविधि सुरु गर्न लागेको बताउनुभयो ।
आलुको पूर्व मूल बीउ उत्पादनका लागि प्रयोगशालालगायतका लागि करिब चार करोड रुपियाँ खर्च भएको र हालसम्म राष्ट्रिय आलु विकास कार्यक्रमअन्तर्गत एक करोड रुपियाँ अनुदान प्राप्त भएको कृषक अधिकारीले बताउनुभयो । गोरखापत्र अनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?