मानव जातिलाई गहतको खुल्ला पत्र: “मेरो दोष के थियो ?”

“जात फाल्नु, गहतको झोलमा” – यो उखानले मेरो अस्तित्वलाई गिज्याइरहँदा मेरो मन भित्रभित्रै रोएको छ। मैले युगौंदेखि मानिसको स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउन आफ्नो सर्वस्व सुम्पिएँ, तर बदलामा मैले के पाएँ ? एउटा अपमानजनक उपमा? मेरा साना बाबुनानीहरू (नयाँ बिरुवाहरू) सोध्छन्, “हामीलाई किन यस्तो भनिएको होला ?” मसँग आजसम्म उनीहरूलाई दिने कुनै चित्तबुझ्दो उत्तर छैन।

मेरो परिचय: संघर्ष र सामर्थ्यको कथा

म गहत हुँ। नेपालको पहाड र मध्य पहाडको कठिन भूगोलमा हुर्किने एउटा सानो कोसेबाली। मेरो जीवन कहिल्यै विलासी रहेन। कमजोर माटो, कम पानी र खडेरीसँग जुध्दै मैले आफूलाई फलाएँ। भिरपखामा पनी म कहिल्यै थाकिनँ। थोरै मिहिनेतमा धेरै प्रतिफल दिनु र किसानको भकारी भर्नु नै मेरो धर्म हो।

विगतको त्यो सुनौलो अध्याय

एउटा समय थियो, जब म प्रत्येक घरको भान्साको शान थिएँ। विशेषगरी जाडोयाममा मेरो झोलको बासना हुर्कन्थ्यो र त्यसले शरीरमा बेग्लै न्यानोपन र शक्ति सञ्चार गर्थ्यो। मानिसहरू मलाई ‘शक्तिको स्रोत’ मान्थे। म केवल एउटा दाल मात्र थिइनँ, म त:

प्राकृतिक डाक्टर: मिर्गौलाको पत्थरी पखाल्नेदेखि पाचन प्रणाली सुधार्नेसम्म मेरो भूमिका थियो।

पोषकतत्वको भण्डार: प्रोटिन, फाइबर र सूक्ष्म पोषकतत्वले म भरिपूर्ण छु।

कृषि सन्तुलक: मेरो लहरा पशुका लागि पौष्टिक आहार हो भने मेरो जराले माटोमा नाइट्रोजन भरेर धर्तीलाई उर्वर बनाउँछ।

आधुनिकताको मार र मेरो चित्तदुखाइ

समय बदलियो। चम्किला प्याकेटमा आएका विदेशी र प्रशोधित खानाले मानिसको मन लोभ्यायो। म बिस्तारै भान्साको बीच भागबाट सरेर बारीको कुनामा सीमित हुन पुगें। कतिपयले मलाई “गरिबको खाना” भनेर हेयको दृष्टिले हेर्न थाले।

मेरो गुनासो मानव जातिसँग यही छ, जसले तिम्रो स्वास्थ्य र परम्परा जोगायो, उसैलाई किन ‘जात फाल्ने’ वस्तु बनाइयो? के मेरो गुणको मूल्य केही छैन ? यद्यपि, अझै पनि गाउँका केही पुराना हातहरूले मलाई मायाका साथ सुम्सुम्याउँछन् र भन्छन्, “गहत बिना त हाम्रो संस्कृति नै अधुरो हुन्छ।” ती शब्दले मलाई फेरि बाँच्ने ऊर्जा दिन्छन्।

आशाको एउटा नयाँ किरण

खुसीको कुरा, अहिले सहरका भान्साहरूमा म फेरि ‘सूप’ र ‘दाल’का रूपमा देखिन थालेको छु। नयाँ पुस्ताले मेरो महत्त्व बुझ्दै गएको देख्दा केही आशा पलाएको छ। तर, ती पुस्ताप्रति मेरो एउटै चिन्ता छ, जसले मलाई चिन्नुपर्ने थियो, उनीहरूले नै मेरो स्वाद बिर्सँदै गएका छन्।

मेरो वाचा

म सस्तो होला, तर म ‘अमूल्य’ छु। म सानो देखिएला, तर म ‘शक्तिशाली’ छु। म केवल भोक मेटाउने साधन मात्र होइन; म त स्वास्थ्य, परम्परा, जैविक विविधता र आत्मनिर्भरताको आधार हुँ।

यदि तपाईंले मलाई फेरि आफ्नो बारी र भान्सामा ससम्मान स्थान दिनुभयो भने, म वाचा गर्छु, चाहे समय कठिन होस् या सहज, म तपाईंको स्वास्थ्य र समृद्धिको ढाल बनेर सदैव साथ दिनेछु।

– तिलक ढकाल
(नेपाली माटो र रैथाने जीवनशैलीका संवाहक)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?