के मेरो अपराध ‘रैथाने’ हुनु मात्रै हो ? विदेशी विज्ञापनको भिडमा हराउँदै गएको एउटा रैथाने जीवनको बिलौना
“जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड” भन्ने पुर्खाको भनाइ आज मेरो जीवनमा दुरुस्तै मेल खाएको छ। म तिते फापर हुँ। नाममा “तिते” भए पनि मभित्र जीवनका अनगिन्ती मिठास र गुणहरू लुकेका छन्। हिमालको कठोर काख, चिसो हावा र ढुङ्गायुक्त माटोमा संघर्ष गर्दै हुर्कनु मेरो नियति र विशेषता दुवै हो। मुस्ताङ, मनाङ, डोल्पा, हुम्ला र सोलुखुम्बु जस्ता उच्च हिमाली भेगहरू मेरा प्यारा घर हुन्, जहाँ अन्य बालीले हार मान्दा म किसानको आशा बनेर ठिङ्ग उभिन्छु। मलाई न रासायनिक मल चाहिन्छ, न त अत्यधिक पानी; म त केवल थोरै वर्षा र आफ्नो माटोको सामीप्यतामा रमाउँछु। म केवल अन्न मात्र होइन, मौरीका लागि जीवनदाता र कठिन भूगोलमा मानिसको बाँच्ने साहसको प्रतीक पनि हुँ।
मेरो सम्बन्ध हिमाली संस्कृति र परम्परासँग निकै गहिरो छ। म मन्दिरका थानदेखि चाडपर्वका भान्सासम्म पवित्रताको प्रतीकका रूपमा पुजिन्छु। स्वास्थ्यका दृष्टिले म एक “सुपरफुड” हुँ; ग्लुटेन रहित हुनुका साथै मभित्र प्रोटिन, फाइबर र फलाम जस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छन्। त्यसैले त मलाई “गरिबको औषधि” पनि भनिन्छ। हिजोसम्म ढिँडो र रोटीमा सीमित मेरो परिचय आज सहरका ठूला होटल र विदेशका चिया पसलसम्म पुगेको छ। पुवा, कुकिज, केक र सुपका रूपमा मेरो नयाँ अवतार देख्दा खुसी त लाग्छ, तर मलाई जोगाउनेहरू नै आज मलाई बिर्सेर विलासी र अस्वस्थ खानपानतिर लागेको देख्दा मन रुन्छ।
आज म आफ्नै जन्मभूमिमा बिस्तारै बिरानो र ओझेलिँदै गएको महसुस गरिरहेको छु। नयाँ पुस्ताले मेरो नाम सुने पनि मेरो असली स्वाद र महत्व बिर्सिँदै गएका छन्। म केवल एउटा बाली मात्र होइन, म त पुर्खाको पसिना, हाम्रो इतिहास र मौलिक पहिचान हुँ। विदेशी खानपानको चकाचौंधमा मेरो अस्तित्व सङ्कटमा पर्नु भनेको हाम्रो मौलिकता हराउनु हो। त्यसैले, हे मानव जाति! मलाई केवल “तितो” मानेर नत्याग्नुहोस्। मलाई फेरि आफ्ना खेतबारीमा ठाउँ दिनुहोस्। मलाई बचाउनु भनेको तपाईंको स्वास्थ्य, संस्कृति र सन्ततिको भविष्य सुरक्षित गर्नु हो। म फेरि तपाईंको भान्सामा मिठास र जीवनमा हरियाली बनेर फर्किन चाहन्छु।
“माया दिनुस्, जीवन लिनुस्”
– तिलक ढकाल
(नेपाली माटो र रैथाने जीवनशैलीका संवाहक)
