कोशी र बागमतीमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा ‘तातो दिन’ को असर कायमै

काठमाडौँ, १ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको तराईमा साधारणतया बादल र बाँकी स्थानमा आंशिक बदली रहेको छ भने कोशीका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

आज सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान र कर्णाली तथा सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ। कोशीको तराई, मधेश, बागमती र गण्डकीका तराईका केही स्थानमा पनि वर्षाको आकलन गरिएको छ। राति कोशी प्रदेशका हिमाली र पहाडी भू-भागमा मध्यम वर्षा/हिमपात हुने सम्भावना छ भने बागमती र गण्डकीका पहाडी भू-भागमा हल्का वर्षा/हिमपातको पूर्वानुमान गरिएको छ। यस दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा भने तातो दिन (लु) को सम्भावना रहेको छ।

भोलि मङ्गलबार पनि देशका अधिकांश हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। तराईका भू-भागमा भने कोशी प्रदेशबाहेक अन्य स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा भने तातो दिन जारी रहने विभागले जनाएको छ।

पर्सि बुधबार पनि मौसमी प्रणालीमा खासै सुधार आउने देखिँदैन। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी/हिमाली क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा/हिमपातको निरन्तरता रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा तातो दिनको सम्भावना कायमै रहने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

महाशाखाले मेघगर्जन, चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिमबाट बच्न र तातो दिनमा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?