कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी

काठमाडौँ: कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहद् छलफल गरी उचित निष्कर्ष निकाल्ने उद्देश्यका साथ राजधानीमा तीन दिने गोष्ठीको आयोजना गरिएको छ ।

कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा आजदेखि सुरु भएको गोष्ठीमा कृषिको आधुनिकीकरणका विविध विषयमा छलफल हुनेछ। सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारी, कृषि वैज्ञानिक, सरोकारवाला तथा भारतका प्रख्यात कृषि वैज्ञानिकको सहभागिता रहेको छ ।

नेपालमा कृषिका लागि अत्यावश्यक मल, बीउ तथा औजारका अवस्था तथा सङ्घ र प्रदेशमा तिनका अवस्थाका बारेमा जानकारी लिँदै त्यस क्षेत्रमा सुधार गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा छलफल गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ। तीन दिनसम्म हुने छलफलमा उन्नत जातका बीउबिजन, मलखाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका लागि आवश्यक सुझाव प्राप्त हुनेछ ।

कृषिजन्य उत्पादनको अन्तरराष्ट्रिय व्यापारका बारेमा पनि गोष्ठीमा छलफल हुनेछ। यस्तै छिमेकी भारतमा कृषिमा दिइने अनुदानका बारेमा पनि अनुभव आदनप्रदान हुनेछ । कार्यक्रमका दौरान विभिन्न एक दर्जन बढी विषयमा सामूहिक छलफल हुनेछ । गोष्ठीमा नेपालको मलखाद नीति र अनुदान प्रक्रिया, माटोमा हुने खाद्य पोषक तत्वको अवस्था, माटोका प्रकार र तिनमा आवश्यक पोषक तत्वका बारेमा विषय विज्ञबाट छलफल हुनेछ ।

यस्तै, रासायनिक मलको अन्तरराष्ट्रिय बजार, प्रादेशिकरुपमा कृषिको अवस्था, कृषिका विविध क्षेत्रमा सरकारी अनुदानको वितरणमा भएका कमजोरी, त्यस अवस्थामा सुधार ल्याउने, भारतको अनुदान प्रणालीका सम्बन्धमा अनुभव आदानप्रदान, कृषिको यान्त्रीकरण, औजारको उचित प्रयोगका विषमा पनि बृहद् छलफल हुने कर्पोरेशनले जनाएको छ ।

नेपाल र भारतको भौगोलिक अवस्था करिब एकै प्रकारको रहेका कारण दुवै देशका वैज्ञानिकले एक अर्काका अनुभव आदानप्रदान गरेर किसानले अधिकतम लाभ लिन सक्ने कर्पोरेशनका उपप्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिए। नेपालको कृषि क्षेत्रको सुधार तथा गुणस्तरीय मलखाद, उन्नत बीउबिजन र औजार उचित प्रयोग गरी गरेर कृषि उत्पादन बढाउन कर्पोरेशन लागिपरेको छ ।

नेपाल सरकारले अनुदानको रासायनिक मलको अयात र बिक्री वितरण गर्ने जिम्मेवारी कर्पोरेशनलाई दिएको छ। कृषिको आधुनिकीकरणसँगै कृषि उत्पादन बढ्ने, किसानको आयस्तरमा वृद्धि हुने, माटोको गुणस्तरअनुसार विभिन्न मल, बीउ र औजारको प्रयोग गरी उत्पादन बढ्ने सरकारको अपेक्षा छ ।

सम्मेलनका क्रममा प्रस्तुत हुने दस्तावेज, छलफलबाट निस्कने निष्कर्ष तथा सुझावले नेपालको कृषि क्षेत्रको रुपान्तरणमा सहयोग मिल्ने अपेक्षा गरिएको उनले बताए। उद्घाटन सत्रमा कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले नेपाल र भारतका सरोकारवाला सहभागी यस गोष्ठीले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments