खाद्य तथा पेयपदार्थमा मूल्य अत्यधिक बढ्यो

प्रशोधित तेल

काठमाडौं : अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ।

गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ।

तेलको मूल्य अकासिएको छ। घिउ र तेलमा मात्रै २६.३४ प्रतिशतले मूल्यवृद्धि भएको छ। तरकारीको भाउ १३.९६ प्रतिशतले बढेको छ।

दुग्धजन्य उत्पादन तथा अन्डाको मूल्यवृद्धि ११.३० र दाल तथा गेडागुडीको १०.३० प्रतिशत छ। खाद्य बाहेकका गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा क्षेत्रको पनि महँगी बढेको छ।

यसरी हरेक वस्तुको मूल्य अकासिँदै जाँदा चालू आर्थिक वर्षको ८ महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो।

खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ। यही गतिमा मूल्यवृद्धि बढिरहे मूल्यवृद्धि दोब्बर अंकमा जाने जोखिम बढेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन्।यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments