मकै ब्लक कार्यक्रममार्फत पाल्पाका ४१४ किसान लाभान्वित

पाल्पा : परम्परागत रुपमा मकै खेती गर्दै आएका रामपुरका किसान नयाँ प्रविधिको प्रयोग गरी खेती गर्न पाउँदा दङ्ग छन् ।

पुरानै ढङ्गले मकै लगाउँदै आएका यहाँका किसान मकै ब्लक कार्यक्रम परेपछि नयाँ प्रविधि सिक्दै खेती गरिरहेका छन् ।

पाल्पा जिल्लामै एकमात्र रामपुर नगरपालिका–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारीले उत्पादन बढाउन र नयाँ प्रविधि किसानलाई सिकाउन ब्लकमा मकै खेती सुरु गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय पाल्पाअन्तर्गत कृषि ज्ञान केन्द्र पाल्पाले हेर्ने गरी यहाँ मकै बालीमा ब्लक कार्यक्रम सुरु गरिएको हो ।

ब्लक कार्यक्रम सञ्चालन भएको क्षेत्रमा यसभन्दा अघि परम्परागत रुपमा मकै, धान, गहुँ बाली किसानले लगाउँदै आएका थिए । पुरानो तरिकाले खेती गरेका यहाँका किसान ब्लक कार्यक्रममार्फत नयाँ प्रविधिको प्रयोग गरी उन्नत जातको वीउ, विभिन्न औजार तथा यन्त्र अनुदानमा प्रयोग गर्न पाउँदा उत्पादन बढ्ने कृषक तुल्सी खनाल बताउनुहुन्छ ।

“मकै खेती जाने बुझेदेखि नै गर्दै आएको हो, खेती गर्दा लागत, मेहनत धेरै लाग्ने तर उत्पादन सोचेअनुसार हुँदैनथ्यो, अहिले मेसिनबाट मकै रोप्ने प्रविधि भित्रिएको छ, लाइनमा मकै रोप्ने होइनछ, हामी त अन्धाधुन्ध तरिकाले खेतबारीमा सिधै मकै छथ्र्यौँ, अनि उत्पादन भएन, फल लागेन भन्यौँ र बस्यौँ”, उहाँले भन्नुभयो । सहकारीका ४१४ कृषक आबद्ध भई ब्लकमा मकै खेती गरिरहेका छन् ।

ब्लक कार्यक्रमअन्तर्गत यहाँ दुई हजार ६०० रोपनी जग्गामा मकै खेती गरिएको छ । मकै खेतीमा ब्लक कार्यक्रम सञ्चालन गर्न सबैभन्दा पहिला जग्गा उपयुक्त छ कि छैन त्यसको छनोट गर्नुपर्दछ । कृषि प्राविधिकले उपयुक्त ठहरेको जग्गा छनोट गरी कम्तीमा दुई हजार रोपनी क्षेत्रफलमा खेती गरिनुपर्ने कार्यविधि छ ।

निर्वाहमुखी खेती प्रणालीले लागत र मेहनतअनुसार उत्पादन लिन नसकिरहेको अवस्थामा अब उत्पादन वृद्धि गर्न नयाँ प्रविधिबाट खेती प्रणाली सिकाएर कृषकको आर्थिकस्तर उकास्न ब्लक कार्यक्रमले ठूलो सघाउ पुग्ने बताउनुहुन्छ, कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी ।

उहाँ भन्नुहुन्छ, “एक दुई वर्षसम्म मात्र नभई दीर्घकालीन रुपमा किसानलाई व्यावसायिक बनाउन, उत्पादन लागत घटाउँदै उत्पादकत्व वृद्धि गर्ने, मकै लगाउने पुरानो शैलीलाई विस्थापित गरी नयाँ प्रविधिबाट खेती गर्न सिकाउनका लागि ब्लक कार्यक्रमले ठूलो सघाउ पुग्नेछ ।”

उत्पादन वृद्धि, बजारीकरण, यान्त्रीकरणमा सघाउ पुग्ने र लागत खर्च घटाउन, उद्देश्यले गरिएको ब्लक कार्यक्रममा सहभागी कृषकलाई अनुदानमा विभिन्न सामग्री उपलब्ध गराइएको छ ।

ब्लक क्षेत्रमा लगाइएको मकैको उत्पादन राम्रो हुँदै गएको र यस कार्यक्रमले उत्पादन कसरी बढाउन सकिने रहेछ भन्ने कुराको किसानले जानकारी पाएको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?