ऐजेरु रोगका कारण घट्यो आलु उत्पादन

आलु उत्पादन

म्याग्दी: ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ । राम्चे, नागी मात्र नभएर आलु खेती हुने म्याग्दीका सबै ठाउँमा यसवर्ष उत्पादन घटेको किसानले बताएका छन् । ‘सिक्काइट्रियम इन्डोवायोमेटिकम’ नामक ढुसीबाट हुने ऐजेरुले आलुको बोट र दाना दुवैमा असर पार्छ । यसले दानालाई कालो बनाएर बिगार्छ । किसानका अनुसार यसअघि म्याग्दीको आलु खेतीमा सो समस्या देखिएको थिएन् ।

अन्नपूर्ण गाउँपालिका–८ राम्चेका फासबहादुर पुर्जाले गत वर्षको तुलनामा आधा कम आलु फलेको बताए। “हुर्कने र दाना लाग्ने समयमा कीराले पात खाएर बिरुवा नष्ट गरेपछि उत्पादनमा असर पुग्यो”, उनले भन, “गत सालको तुलनामा आधा उत्पादन घट्यो ।”

गतसाल बीस मुरी आलु उत्पादन गरेका किसानले यसपाली आधा मात्र फलाएका बताए । अन्नपूर्ण–८ नागीका कृष्ण पुर्जाले उत्पादनसँगै किसानको आम्दानी पनि घटेको बताए । बजारमा माग अनुसार आलु पुर्याउन नसकिएको र आम्दानीमा असर परेको पुर्जाले बताए । नागी राम्चेबाट वार्षिक रु दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा एक हजार ९५ हेक्टर क्षेत्रफलमा बर्खे र ६२० हेक्टरमा हिउँदे आलु खेती हुने गरेको छ । गत वर्ष १८ हजार १२ मेट्रिक टन बर्खे र सात हजार २७१ मेट्रिक टन हिउँदे आलु उत्पादन भएको केन्द्रको तथ्याङ्क छ ।
उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँलगायत बजार क्षेत्रमा निकासी हुने गरेको थियो । जिल्लाबाट वार्षिक रु ६ करोड बढी मूल्यको आलु निकासी हुने तथ्याङ्क छ । उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टन भन्दा बढी आलु निकासी हुने गरेको हो । प्रतिकेजी रु ५० देखि १०० सम्ममा आलु बिक्री हुन्छ ।

व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, घार, राम्चे, हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरिको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन ।

कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले ऐजेरुका कारण आलुको उत्पादकत्व घटेको बताउनुभयो । “ब्लक, जोन र पकेट कार्यक्रमबाट आलु खेतीको क्षेत्रफल विस्तार भएकाले समग्रमा १५ देखि २० प्रतिशत उत्पादन घटेको अनुमान गरेका छौँ”, उनले भने “ऐजेरु देखिएको ठाउँमा आलुको उत्पादकत्वमा असर पुगेको छ ।”

उनका अनुसार सो रोग पहिचान भएपछि स्थलगत रुपमा निरीक्षण, परामर्श र नियन्त्रणका लागि विषादी वितरण गरिएको थियो । सो रोग देखिएको आलुलाई बीउमा प्रयोग नगर्ने र ऐजेरु अवरोधी एनपिआइ १०६, कार्डिनल, कुफ्रिज्योति, जनकदेव, खुमल सेतो १, खुमल रातो २ आदि जातका बीउ प्रयोग गर्न कृषि प्राविधिकले सुझाएका छन् ।

म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ६,७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गले, अन्नपूर्ण–८ राम्चे र मङ्गलाको ३, ४ र ५ नम्बर वडामा आलुको व्यावसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो । गत आर्थिक वर्षदेखि मालिका गाउँपालिकाको ६ दिच्याम र ७ बीमलाई आलु ब्लक कार्यक्रममा समावेश गरिएको केन्द्रका प्रमुख किरण सिग्देलले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments