व्यावसायिक बन्दै सुँगुरपालन

बङ्गुरपालन

म्याग्दी: माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् ।

बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन्। उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आएका छन्। पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् । एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ ।

“पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको थिएन तर अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु”, उनले भने, “व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।”

सुँगुरका पाठापाठीलाई स्थानीयवासीले ‘भुनी’ र ‘वीरे’ भनी सम्बोधन गर्छन् । भुनी तीन महिनामा गर्भवती हुन्छे र छ महिनामा ब्याउँछे। भुनीले एक बेतमा १५ वटासम्म पाठापाठी पाउँछे । अर्जमे कालो सुँगुरको एक बर्षमा ६० केजी तौल पुग्छ। पैँतालिस दिनमा पाठापाठी र माउ छुट्याउनुपर्छ, नत्र आमाले पाठापाठी मार्छे ।
सुँगुरको मासु प्रतिकेजी रु आठ सयमा बिक्री हुन्छ । सुँगुर पाल्न नगरपालिकाको पशु शाखा र वडा कार्यालयले खोर निर्माण तथा पाठापाठी खरिद गर्न अनुदान दिएको छ । मासुको मुख्य बजार बागलुङ र बेनी हो ।

जिल्लामा सुँगुर पाल्ने बेनी–१ को रत्नेचौर र अर्जममा मात्र गरिएको छ। होटल, रेष्टुराँमा सुँगुरको मासुको माग बढेसँगै पछिल्लो समय जिल्लाभर व्यावसायिक रूपमा बङ्गुरसँग जोडेर कालो सुँगुर पाल्न थालिएको अर्जमका कृषक नरबहादुर थापाले बताए ।

रत्नेचौर र अर्जममा पाँच सयभन्दा बढी मगर घरमा दुई–चार वटा लोकल कालो सुँगुर अनिवार्य पाल्ने गरिन्छ । केही दलित र नेवारले पनि सुँगुर पालेका छन् । थापामगरको घरमा मान्छे मर्दा पिण्डदान गर्ने बेला सुँगुर नभई हुँदैन । पितृलाई पिण्ड चढाउँदा जाँड, रोटी, सुँगुरको मासु चढाउने चलन छ ।

कुलपूजा, पितृपूजा, दशैँमा देवी मन्दिरमा पञ्चबलि दिँदा होस् वा विवाह, व्रतबन्धलगायत सामाजिक कार्यक्रममा सुँगुर काट्ने गरिन्छ। परम्परागत शैलीमा पालिँदै आएको कालो सुँगुरपालनलाई व्यावसायिक बनाउन बेनी–१ वडा कार्यालयले खोर निर्माण, व्यावसायिक फर्म स्थापना गर्नेलाई प्रोत्साहन गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?