गाउँमै छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो

म्याङुलुङ : गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् ।

घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन् । किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन् । गाउँमा छुर्पी उद्योग सुरु हुनुअघि अधिकांस किसानले घ्यू मात्रै उत्पादन गर्ने गर्थे । त्यति मात्रै होइन, उनीहरु टाढा टाढासम्म दूध बिक्री गर्न लैजान बाध्य थिए । गाउँभन्दा टाढासम्म दूध बेच्न लैजाँदा समयमा पैसा नपाउने र कम मूल्यमा बेच्न किसान बाध्य थिए ।

यतिबेला किसान गाउँमै स्थापना भएको उद्योगले दूध खरिद गर्न थालेपछि खुसी भएका छन् । छथर गाउँपालिकाको हमरजुङ, ओख्रे र सुदापबाट दैनिक तीन सयदेखि पाँच सय लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । यही दूधबाट दैनिक ५० किलोसम्म छुर्पी र ३० किलोसम्म घीउ उत्पादन हुने गरेको छ । यसले छुर्पी र घ्यू उत्पादन गर्ने व्यवसायीलाई फाइदा पुगेको छ ।

दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि घरखर्च चलाउन सजिलो भएको स्थानीय छत्रबहादुर खड्काले बताउनुभयो । “दूध सबै डेरीमा लैजान्छौँ । अहिले त जीविकोपार्जन गर्न सहज भएको छ”, उनले भने, “यसकै आम्दानीले चार जनाको परिवार पाल्न सहज भएको छ ।”

गाउँमा छुर्पी उद्योग सञ्चालनमा आएपछि दुग्ध उत्पादक किसानलाई मात्र होइन उद्योगीसमेत खुसी भएका छन् । छुर्पीले राम्रो बजार पाएपछि उद्योगीले मनग्य आम्दानी गर्न थालेका छन् । जनकन्या किसान पशुपालन सहकारी संस्थाका सचिव रामबहादुर भट्टराईले थछरका धेरैजसो किसानले दूध बेच्न ल्याउने भएका कारण व्यापार बढेको बताए ।

भट्टराई जस्तै अर्का किसान तिला खुलाल भन्छन्, “पहिले दूधको भाउ नपाउँदा श्रीमान् विदेशिनु परेको थियो । अहिले गाउँमै फर्किएर पशुपालनमा लागेका छौँ । यसबाट राम्रै आम्दानी भएको छ । अहिले यही नै आम्दानीको मुख्य स्रोत बनेको छ ।” गाउँपालिकाले स्थानीयलाई लक्षित गरी छुर्पी प्रवद्र्धन कार्यक्रम अघि बढाएको छ । पालिकाले नै किसानलाई लक्षित गरी सहुलियत र अनुदान दिने कार्यक्रम ल्याएपछि उनीहरुको आयस्रोत बढेको छ ।

छथर गाउँपालिले केही वर्षयता लगातार रुपमा छुर्पी उद्योग र पशु विकासका लागि अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । “निजी उद्योग पनि सञ्चालनमा आएका छन् । उनीहरुलाई पालिकाले छुर्पी प्रवद्र्धन कार्यक्रमअन्तर्गत विभिन्न सामग्री खरिदमा ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ”, प्रवक्ता राजन नेपालीले भन्नुभयो, “गत आवमा पनि दुग्धजन्य उद्योगका लागि रु १८ लाख खर्च गरेका थियौँ ।”

गाउँपालिकाले थप किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने स्थानीय उमेश ठकुरीको भनाइ छ । छुर्पी उद्योगसमेत सञ्चालन गर्दै आउनुभएका ठकुरीले सहरमा भन्दा पनि ग्रामीण क्षेत्रका किसानको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । यहाँ पाँच उद्योगबाट छुर्पी उत्पादन भइरहेको छ । बिक्रीका लागि कुनै समस्या छैन । यहाँ उत्पादित छुर्पी तेह्रथुमका साथै धनकुटा, धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । स्थानीयस्तरमै उत्पादित छुर्पीको बजार प्रवद्र्धनमा ध्यान दिनसके छथरको छुर्पीलाई छुट्टै ब्राण्ड बनाउन सकिने तथा विदेशसमेत निर्यात गर्न सकिने स्थानीयवासी बताउँछन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?