दाङबाट ४३ सय क्विन्टल जडीबुटी निकासी

घोराही: दाङबाट एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८-७९ मा राष्ट्रिय र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार नौ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको छ ।

जिल्लाबाट चार हजार तीन सय ८९ दशमलव पाँच क्विन्टल जडीबुटी निकासी हुँदा धेरै टिमुर निकासी भएको छ । राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो गरी जम्मा दुई लाख ४१ हजार सात सय ४२ किलो टिमुर निकासी भएको डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिएका छन् । उनका अनुसार वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी सङ्कलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी सङ्कलनको राजस्व पूर्णरुपमा छुट गरिएको छ ।

निजी वन क्षेत्रबाट उत्पादित जडीबुटीको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताए ।

राष्ट्रिय वनबाट १५ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएकामा निजी वनबाट १३ जडीबुटी सङ्कलनको अनुमति दिइएको थियो । राष्ट्रिय वन क्षेत्रबाट टिमुर २९ हजार ५५०, रिठागेडी १६ हजार, मालागेडी १४ हजार ५००, तेजपात सात हजार, अमला तीन हजार, बर्रो एक हजार ५००, लहरे गुर्जो दुई हजार ५००, ब्राह्मी एक हजार र चुत्रो दुई हजार किलो निकासी हुँदा छ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीले जानकारी दिएको छ ।

निजी वनबाट सबैभन्दा धेरै टिमुर निकासी भएको छ । जसअनुसार टिमुर दुई लाख १२ हजार एक सय ९२, मालागेडी ५५ हजार २००, रिठा ३२ हजार १०, काउलो बोक्रा २९ हजार, दालचिनी बोक्रा २७ हजार ४००, तेजपात १८ हजार एक सय, फलखोटो दुई हजार, पाषणवेद एक हजार ६००, तिगेडी, कालिकाठ र चुत्रो एक÷एक हजार, अमलवेद छ सय ५० र चिराइतो दुई सय ५० किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । केही वर्षयता जिल्लाबाट जडीबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको डिभिजन वन कार्यालय दाङका सूचनाअधिकारी खिमबहादुर केसीले बताए।

जडीबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्न गतवर्षदेखि जडीबुटी खेती गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको सहायक वन अधिकृतसमेत रहेका सूचनाअधिकारी केसीले बताए । उनका अनुसार यस वर्ष जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा रोपिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?