दसैँका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौँ ल्याइँदै

काठमाडौँ : यस वर्षको बडादसैँमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।

कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिनुभयो ।

कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ । कम्पनीको उक्त प्रयासले बजार मूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।

यसैबीच, स्थानीय पालिका जनप्रतिनिधिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ ।

कम्पनीले चामल, दाल, पीठो, नुन, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसैँअघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको छ । ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ । रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments