चितवनमा यस वर्ष धान उत्पादन बढ्ने

चैतेधान

भरतपुर: चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ ।

केन्द्रका प्रमुख युवराज पाण्डेले यसबर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन बढ्ने अनुमान गरिएको बताए। “सरकारले समयमा रासायनिक मल दिन नसके पनि किसानहरुले भारतसँगको खुला सिमानाका कारण विभिन्न माध्यामबाट मल ल्याउनुभयो”, उनले भने, “हाम्रो स्थलगत निरीक्षणमा पनि उत्पादन राम्रो देखिएको छ ।”

चितवनमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढ्छ। चितवनलाई धान उत्पादनको भण्डार मानिन्छ। यहाँका अधिकांश किसानले यस वर्ष सावित्री, राम धान (वार) र सावा धान लगाएका छन्। चितवनको इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धानको उत्पादन राम्रो छ ।

पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुनेमा पर्छन्। चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि पर्याप्त धान उत्पादन हुँदै आएको छ। यस्तै माडी क्षेत्रमा पनि धान उत्पादन राम्रो हुने गरेको छ। चितवनमा यस वर्ष मात्रै एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत् सिँचाइ उपलब्ध गराइएको थियो ।

चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो। आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा सिँचाइका लागि ५७ वटा डिप ट्युबेल र एक सय १० वटा स्यालो ट्युबेल जडान गरिएको छ। यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उनले बताए ।

चितवनमा ३० हजार पाँच सय हेक्टरमा धान खेती गरिएको छ। जसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खे धान र सात हजार पाँच सय ७३ हेक्टरमा चैते धान लगाउने गरिएको छ। चैते धान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ ।

चितवनमा १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ। पश्चिम चितवनको चनौलीका किसान सोमप्रसाद चालिसेले यस वर्ष समयमै मल नपाए पनि राम्रो धान फलेको बताए। उनले एक विघा क्षेत्रफलमा फलेको धान दुई दिन लगाएर काटिसक्नु भएको छ भने अब धान उठाउने र थ्रेसर लगाउने तयारीमा छन् ।

भरतपुर महानगरपालिका ११ का किसान गंगाप्रसाद आचार्यले गत वर्षभन्दा यस वर्ष खेतमा राम्रो धान फलेको बताए। उनले आइतबार मात्रै आफ्नो सात कठ्ठा जमिनको धानमा थ्रेसर लगाए। “गत वर्ष १८ बोरा धान भित्राएको थिएँ, यसबर्ष २२ बोरा धान उत्पादन भएको छ”, उनले भने । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?