छाडा चौपाया व्यवस्थापन गर्न सुरु

बेवारिसे गाईबाच्छा

सिद्धार्थनगर:रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको छ । छाडा छाडिएको गाईगोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्य अभिवृद्धिमा पनि असर पारेकाले नगरपालिकाको कार्यालयले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताउनुभयो ।

“छाडा छाडिएको गाईगोरुको व्यवस्थापन गर्न सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “सुन्दर नगर बनाउन नगरवासीले पालेका गाईगोरु पनि अबदेखि छाडा नछाड्नेमा हामी विश्वस्त छौँ ।” अन्य पालिका, खुला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाईगोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या देखिएको नगरपालिकाको कार्यालयले जनाएको छ । छाडा चौपायाले नगर सौन्दर्य अभिवृद्धिका लागि लगाइएका फूल बिरुवा, धानखेतलगायतमा नोक्सानी भएको छ ।

भारतबाट छाडा गाईगोरुको प्रवेश नियन्त्रणका लागि सशस्त्र प्रहरी र छिमेकी पालिकाबाट प्रवेश नियन्त्रणका लागि नेपाल प्रहरीले सहयोग गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ । व्यवस्थापनका लागि नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा नगर क्षेत्रबाट छाडा चौपायालाई एकत्रित गरी राख्न सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताउनुभयो ।

नगरपालिकाको कार्यालयले एकत्रित गरेको छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालनपोषण गर्ने जनाएको छ । वडा नं ११ स्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा काञ्जी हाउस निर्माणको प्रक्रिया पनि अघि बढाइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताउनुभयो । उक्त हाउसलाई छाडा चौपायाको व्यवस्थापनका लागि होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments