प्यूठानमा मह उत्पादन नभएपछि मौरीपालक चिन्तित

प्यूठान:कात्तिक र मङ्सिर महिना मौरीपालक कृषकका लागि उपयुक्त समय हो । मौसममा स्रोत खोज्दै मौरी चरनका लागि जिल्ला बाहिरबाट समेत कृषकहरू प्यूठानका विभिन्न ठाउँमा मौरी चराउन ल्याउने र चिउरी तथा तोरीको प्रशस्त मह काढ्ने गर्दथे । तर यस वर्ष मौरी किसानका लागि मौरी र मह दुवैमा क्षति पुगेपछि मारमा परेका छन् । कात्तिके मह खोज्दै किसानका घरमा पुग्ने ग्राहकले मह पाउन सक्दैनन् ।

विगत सात–आठ वर्षयता मौरीपालन गर्दै आएकी प्यूठान नगरपालिका–७ टिकुरीकी व्यवसायी पार्वता पोख्रेलले बैंकबाट रु १० लाख ऋण लिएर मौरीपालन व्यवसायलाई बढावा दिनुभयो । सिजनमा मह उत्पादन गरेर बैंकबाट लिएको ऋणको किस्ता तिरौँला भनेको मौरीलाई अरिङ्गालले सखाप पारेपछि यस वर्ष मह उत्पादन हुन नसकेपछि उहाँ चिन्तित हुनुहुन्छ । मह उत्पादन गरेर बिक्री गरी बंैकको ऋण तिर्ने सोच बनाउनुभएकी उहाँलाई अब कसरी किस्ता तिर्ने भनेर चिन्ता बढेको छ । उहाँ भन्नुहुन्छ, “सय गोला मौरी थियो, अरिङ्गागालले खाएर अहले मुस्किलले १० गोला छ । गत वर्ष करिब २० क्विन्टल मह काढेको हो । यस वर्ष एक केजी पनि काढिएन ।” उहाँको करिब पाँच लाख बरबरको मौरी सखाप भयो भने १० लाख बराबरको महमा क्षति भयो । यसरी हेर्दा उहाँको मात्रै १५ लाख बढीको क्षति भयो ।

यस्तै टिकुरीकै अर्का किसान डिमराज पोख्रेलको पनि ९० गोला मौरी थियो । उहाँले पनि यस वर्ष मह काढ्नुभएन । उहाँको मौरीमा पनि अरिङ्गालले क्षति पु¥यायो । उहाँलाई पनि यस वर्ष १५ लाख बराबरकै क्षति भएको भन्दै दुःख सुनाउनुभयो । “वर्षाभरि अरिङ्गालको गोला खोजीखोजी पोल्ने गरियो । तर पनि नियन्त्रण गर्न सकिएन । मौरी सखाप भयो । बैंक तथा सहकारीबाट लिएको ऋण तिर्न समस्या भयो”, उहाँले भन्नुभयो । उहाँहरू जस्ता प्यूठान नगरपालिकामा आधुनिक तरिकाले एपिएस मेलिफेरा जातको मौरीपालन गर्ने १५ जना किसान रहेको प्यूठान नगरपालिका कृषि शाखाप्रमुख अजित पौडेलले बताउनुभयो । यस वर्ष प्यूठानमा मौरी किसानहरूले ठूलो क्षति बेहोर्नु परेको पौडेलले बताउनुभयो ।

यस्तै मौरी र महका लागि ‘हब’ क्षेत्र मानिएको सरुमा रानी गाउँपालिका बड्डाँडा क्षेत्रमा पनि मौरी किसानलाई अरिङ्गालले क्षति पु¥याएको नेपाल मौरीपालक महासङ्घ प्यूठानका अध्यक्ष हुमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष प्यूठानका किसानले मात्रै करिब २५ देखि ३० टन मह उत्पादन गरेका थिए । “तर यस वर्ष मुस्किलले दुई टन उत्पादन भयो होला । त्यही पनि प्यूठान नगरपालिकाका किसानहरूले त मह नै काढ्न पाएनन् । मौरी नै सखाप भयो”, उहाँले भन्नुभयो । प्यूठानका विभिन्न ठाउँमा बाहिरबाट पनि किसानले करिब पाँच हजार मौरी गोला चरनमा ल्याएका थिए । कसैले पनि मौरी नकाढी फर्केको उहाँले सुनाउनुभयो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका अनुसार गत वर्ष एपिएस सेरेना र एपिएस मेलिफेरा मौरीपालक किसानहरूले करिब ५० टन मह उत्पादन गरेको अनुमान छ । कार्यालयका अनुसार ५० टन महमध्ये करिब २५ टन मह जिल्लाकै किसानहरूले उत्पादन गर्न सफल भएका थिए । बाँकी २५ टन जति जिल्ला बाहिरबाट आउने किसानले मह उत्पादन गरेर लगेका थिए । यसरी हेर्दा गत वर्ष करिब दुई करोड बराबरको मह उत्पादन भएको तर यस वर्ष मुस्किलले १० लाख बराबरको मात्रै भएको मौरीपालक महासङ्घ प्यूठानले जनाएको छ ।

कपिलवस्तुस्थित वाणगङ्गा मौरी कृषि सहकारी संस्था लिमिटेड हरेक वर्ष प्यूठानमा मौरी चरनका लागि आउने गर्छ । तर यस वर्ष मौरीमा क्षति भएकाले मह काढ्नै नपाएको संस्थाका अध्यक्ष लीलापति घिमिरेले गुनासो गर्नुभयो । गत वर्ष कात्तिक र मङ्सिरमा गरी तीनपटकसम्म मह काढ्न पाएकामा यस वर्ष एकपटक पनि काढ्न नपाएको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “महको प्रशस्त स्रोत हुँदाहुँदै पनि मौरीको प्राकृतिक शत्रु जीव अरिङ्गालले खत्तम बनायो । गत वर्ष फाट्टफुट्ट अरिङ्गाल लाग्ने गरे पनि नियन्त्रण भएको थियो । तर यस वर्ष सकिएन ।”

यस्तै रुपन्देहीका किसान रामवियारी चौधरी करिब चार सय गोला मौरी लिएर चरनका लागि प्यूठान आउनुभयो । तर उहाँले पनि करिब डेढ सय गोला अरिङ्गालकै कारण क्षति भएको दुःख सुनाउनुभयो ।

नेपाल मौरीपालक महासङ्घ प्यूठानका अनुसार जिल्लाभर करिब ५० जना व्यावसायिक मौरी किसान छन् । पचास किसानको करिब तीन हजार गोला मौरी थिए । तर यस वर्ष मौरीमा कति क्षति पुग्यो भनेर अध्ययन भइरहेको महासङ्घका निवर्तमान अध्यक्ष विष्णु सारुमगरले सुनाउनुभयो । जिल्लामा परम्परागतरूपमा मुढेघारमा पालिने एमिएस सेरेना जातको (स्थानीय) मौरीमा समेत अरिङ्गालले क्षति गरेपछि रैथाने मौरी पनि मासिँदै गएको छ । जिल्लाका किसानहरूलाई यस वर्ष प्राकृतिक शत्रु जीव अरिङ्गालले ठूलो क्षति पु¥याएकाले सरकारी तवरबाट किसानले राहतको अपेक्षा गरेका छन् । यसका अतिरिक्त अरिङ्गाल नियन्त्रणका लागि सम्बन्धित निकायहरूबाट आवश्यक प्रविधिरहित प्राविधिक सहयोगको अपेक्षा किसानहरूको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments