पहिरोको अध्ययन गर्न उपकरण जडान

पर्वतमा पहिराले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको प्राविधिक अध्ययन गर्न उपकरण जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर र ध्वनि उत्सर्जन गर्ने सेन्सर जडान गरिएको हो ।

उपकरणबाट प्राप्त हुने जमिनभित्रको तथ्याङ्कले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्व तयारी र मनसुन योजना बनाउन सहयोग हुने पहिरोको अनुसन्धान गरिरहेको सजग समूहका सदस्य निमा दोर्जे भुटियाले जानकारी दिनुभयो ।

“उपकरण राखिएको स्थानमा पानी कति प¥यो, कति कम्पन भयो र चिस्यान कति छ भन्ने कुरा सेन्सरमार्फत डाटा रेकर्ड भइरहेको हुन्छ,” उहाँले भन्नुभयो “यसमा पहिरो जाँदै छ भनेर साइरन बज्ने त हुँदैन तर जमिनभित्रको तथ्याङ्कले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्व तयारी गर्न, मनसुन योजना बनाउन सहज हुन्छ ।”

त्रिभुवन विश्वविद्यालयसहित बेलायत, क्यानडा, न्युजिल्यान्डका विभिन्न विद्यालय, भूकम्प प्रविधि राष्ट्रिय समाज, सोसल साइन्स समेतको सहभागितामा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धाता सहितको टोलीले उपकरण जडान गरेको हो ।

फगाम र काभ्रेभिर पहिरोका हिसाबले जोखिमयुक्त मानिन्छ । अनुसन्धानमा संलग्न मानवशास्त्री टेकबहादुर दोङले म्याग्दीसहित काभ्रे, सिन्धुपाल्चोकको भोटेकोसी, बाह्बिसे, दोलखाको भीमेश्वर नगरपालिकाका १० स्थानमा उपकरण जडान गरेर पहिरोको अध्ययन थालिएको बताउनुभयो ।

जमिनको २० मिटर तलसम्म गाडिएको उपकरणले माटोमा भएको हलचलबारे हरेक १० मिनेटमा कम्प्युटरमा जानकारी प्रवाह गर्छ । कम्प्युटरसम्म आइपुगेको सूचना सरोकार निकायलाई समयमै जानकारी दिनसके त्यसले क्षति कम गराउन मद्दत पुग्ने भुटियाले बताउनुभयो । सेन्सर सञ्चालनका लागि ब्याट्री, सौर्य ऊर्जा, साइरन, रिमोट, प्यानिक बटनजस्ता उपकरण आवश्यक राखिएको छ । माटोको चिस्यान मापन उपकरण, माटोमुनिको तापक्रम र आद्र्रता मापन गर्ने ‘सेन्सर’ वर्षा मापन उपकरणलाई पाइपभित्रबाट जमिनमुनि गाडिएको छ ।

ध्वनि उत्सर्जन ‘सेन्सर’लगायतका सम्पूर्ण गतिविधि सोही ठाउँमा जडान गरिएको तार हुँदै कम्युटरसम्म पुग्छ । सो उपकरणले शृङ्खलाबद्ध रूपमा हुने स–साना माटोका चालले ठूलो विपत्तिबारे पूर्वानुमान गर्न सहयोग गर्छ ।यसै प्रविधिका कारण केही वर्षअघि भारतको हिमाञ्चल प्रदेशको मन्डी जिल्लास्थित कोटरोपी ठूलो क्षति हुनबाट जोगिएको थियो । उपकरणबाट प्राप्त सङ्केतका आधारमा भारतीय प्रहरीले त्यहाँको सडकखण्डबाट गुडिरहेका सवारीसाधनलाई हटाएको थियो भने लगत्तै सोही स्थानमा पहिरो गई सडकखण्ड पूर्ण ध्वस्त भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?