बाच्छी र पाडी पाल्ने कृषकलाई रु १० हजार पुरस्कार

तनहुँ:तपाईंको गोठको बाच्छी र पाडीले भनेजस्तो बजार पाएन भनेर चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता नलिनुहोस् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बाच्छी र पाडी पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार पुरस्कार दिने भएको छ ।

बाच्छी र पाडी हुर्काउने कृषक घट्दै गएपछि संरक्षणका लागि केन्द्रले आर्थिक वर्ष २०७७/७८ देखि यो उपाय अघि सारेको हो । नमुना परियोजनाका रुपमा अघि सारिएको यस कार्यक्रम प्रभावकारी बन्दै गएपछि यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको केन्द्रले जनाएको छ ।

आव २०७७/७८ मा एक सय बाच्छा र पाडी संरक्षण गर्ने ८४ जना कृषकलाई पुरस्कारस्वरुप रु १० लाख प्रदान गरिएपछि यस वर्ष पनि चासो राख्दै केन्द्रमा आउने कृषकको चाप बढेको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले बताउनुभयो ।

“मासुका लागि बिक्री नहुने भएपछि कृषकमा पाडी पाल्नु बोझ जस्तै ठान्ने चलन थियो”, वरिष्ठ पशु विकास अधिकृत श्रेष्ठले भन्नुभयो, “अहिले संरक्षण गर्नेलाई पुरस्कार दिन थालेपछि पाडी पाल्ने बढ्दै गएका छन् ।”

दूधका लागि किनिने बाच्छी र पाडीका लागि कृषकलाई अन्य जिल्ला जान नपरोस् भनेर आफूहरूले पुरस्कारको व्यवस्था गरेको डा श्रेष्ठको भनाइ छ । कृत्रिम गर्भाधानबाट जन्मिएका बाच्छी वा पाडी र न्यूनतम एकदेखि दुई वर्षसम्मको हुनुपर्ने प्रावधान राखिएको डा श्रेष्ठले बताउनुभयो । नश्ल सुधार गरी दूध उत्पादन बढाउन यसो गरिएको उहाँले जानकारी दिनुभयो ।

“कृत्रिम गर्भाधान गरिएको रेकर्ड, सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा कृषकलाई पुरस्कार दिने गरेका छौँ”, डा श्रेष्ठले भन्नुभयो, “पहिले १८/२० वटाभन्दा धेरै बाच्छी र पाडी उत्पादन हुन्थेनन् । गत वर्षदेखि कृषकको रुचि पाडामाभन्दा पनि पाडीमा देखिएको छ । त्यसले गर्दा यस वर्ष पनि पुरस्कारको व्यवस्था गरेका छौँ ।”

केन्द्रले चालु आव २०७९/८० मा एक सय ५० वटा बाच्छी र पाडी संरक्षण गर्ने कृषकलाई रु १० हजार पुरस्कारको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षदेखि पकेट क्षेत्र तोकेर बाच्छी र पाडी हुर्काउने कार्यक्रम तर्जुमा गरिनेसमेत प्रमुख डा श्रेष्ठले बताउनुभयो ।

बाच्छी र पाडी पालेरै पुरस्कार पाइने भएपछि पछिल्लो समय कृषककोसमेत रुचि बढेको व्यास–१० दुम्सीस्थित दुम्सी दुग्ध उत्पादक सहकारी संस्था लिका पूर्वध्यक्ष तथा व्यवस्थापक दयाराम पौडेलले बताउनुभयो ।

“पहिले हुर्काउन कसैले पनि खासै वास्ता गर्थेनन्”, पौडेलले भन्नुभयो, “अहिले बाच्छी र पाडी हुर्काए रु १० हजार पुरस्कार पाइन्छ रे भन्दै कृषक छलफल गर्ने गरेका छन् ।”

दुग्ध उत्पादक कृषकलाई उक्त कार्यक्रम प्रभावकारी भएको सहकारीका पूर्वअध्यक्ष पौडेलले बताउनुभयो । उत्पादनमा आधारित अनुदान दिन सके त्यसले दिगो प्रभाव पार्ने ठानेर नै यस्ता कार्यक्रम तर्जुमा गरिएको विज्ञ केन्द्रले जनाएको छ ।

पोखरा र काठमाडौँसम्म बजारीकरणका लागि पनि तनहुँको भू–वनोट उपयुक्त भएकाले आफूहरूले दूध उत्पादनमा जोड दिएको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो ।

दूधमा तनहुँ आत्मनिर्भर भए पनि अन्य जिल्लाबापत गर्ने ध्येयले बाच्छी र पाडी उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखिएको केन्द्रले जनाएको छ । खाद्य तथा कृषि सङ्गठनले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध आवश्यकपर्ने बताए पनि तनहुँमा भने प्रतिव्यक्ति प्रतिवर्ष एक सय १८ दशमलव ५ लिटर दूध उत्पादन हुँदै आएको छ । तनहुँमा आव २०७८/७९ मा ३८ हजार आठ सय ३८ मेट्रिकटन दूध उत्पादन भएको केन्द्रले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?