एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप

पशुमा पूर्ण खोप

चितवन:जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका भेडाबाख्राहरुमा खोप दिन लागिएको हो । सोमबारदेखि सुरु भएको खोप अभियान एक सातासम्म चल्नेछ ।

बाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि यो खोप दिने गरिएको उहाँले बताउनुभयो । केन्द्रले निःशुल्क खोप उपलब्ध गराउँदै आएको छ । पिपिआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो ।

नेपालमा आर्थिक वर्ष २०५०/५१ सालमा पहिलो पटक देखापरी त्यसपश्चात् यस रोगको प्रभावले ठूलो क्षति बेहोर्नु परेको थियो । यो रोगबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न आव २०५८/५४ देखि खोप सेवा सञ्चालन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

रोगी भेडाबाख्राको प्रत्यक्ष सम्पर्कमा आउनाले वा विषाणुको लसपस भएको दाना, घाँसपात, सोत्तर, हेरचाह गर्ने व्यक्तिको माध्यमबाट सर्ने गर्दछ । यो रोग लागेका बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने र उग्राउन छाड्ने जस्ता लक्षण देखापर्ने न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार आँखामा कचेरा लाग्ने, नाकबाट बाक्लो सिङ्गान बग्ने, गिजा र मुखभित्र घाउहरु देखिने, बथानमा एकैपटक धेरै बिरामी पर्ने जस्ता लक्षण देखिने गरेको छ ।

रोगबाट बचाउन कृषकहरुले बाहिरबाट ल्याएका भेडाबाख्रालाई कम्तीमा पनि १० दिनसम्म घरगोठमा रहेका पशुवस्तु नमिसाई अलग्गै राख्ने, त्यस अवधिमा रोगका कुनै लक्षण नदेखिएमा मात्र बथानमा मिसाउने, रोगी पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार नगर्ने गर्न उहाँको सुझाव छ ।

उहाँले रोगी भेडाख्रालाको हेरचाह गर्ने व्यक्ति अन्य स्वस्थ्य भेडाख्राबाको हेरचाह गर्नु पर्दा हातखुट्टा धोएर तथा लुगा कपडा, जुत्ता, चप्पल फेरेर मात्र गर्ने, भेडाबाख्रालाई हरेक तीन/तीन वर्षमा अनिवार्य रूपमा पिपिआर खोप लगाउन, जैविक सुरक्षा कडाइका साथ अवलम्बन गर्नुपर्ने पनि सुझाव दिनुभयो ।
खोप अभियानमा छुटेका भेडाबाख्रालाई अभियानपछि समेत खोप दिइने उहाँले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?