व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन सुरु

गुन्द्रुक कसरी बनाउने ? के छ फाइदा ? जानिराखौ

टीकापुर:कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन् ।

उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० केजीका १५ ड्रम र सिन्की ५० केजीका छ ड्रम उत्पादनको तयारीमा रहेका छन् । तयारी भएको मस्यौरा गुणस्तर परीक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको छ ।

मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिडालु छिल्ने, पिडालु मसिनो बनाउने, मास पिस्ने, पिडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन् । यसरी उत्पादन भएको मस्यौरा र गुन्द्रुक नेपालमै खपत हुने र विदेशमा समेत पठाउन सकिने उनीहरू बताउँछन् । मस्यौरा तयार गर्ने मेसिनमा रु १३ लाख बढी खर्च भएको छ भने सिन्की परम्परागतरूपमै तयार गर्ने गरिएको छ । सत्र जना महिलाले रु एक–एक लाख लगानी गरेर उद्योग सञ्चालन गरेका हुन् । महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिडालु र मासले मूल्य पाउने भएको छ । मुलाको मूल्य बजारमा व्यापारीबाट किसानले रु १०, काउली रु १० र पिडालुको मूल्य ३० र कुपिण्डोको मूल्य ३० मा किसानले बिक्री गर्ने गरेका थिए भने अहिले मुला रु १५, काउली १५, पिडालु ४० र कुपिण्डोको रु ४० पाउन थालेका छन् ।

विगतमा तरकारी खेती गरेर बजारको समस्या भोगेका जानकी गाउँपालिकाको सुवर्णपुरका चित्रबहादुर चौधरीले तरकारीको मूल्य न्यून पाए पनि बजारको समस्या नभएको बताउनुभयो । “मूल्य त खासै पाइएको छैन तर विगतमा बजार नपाएर तरकारी फाल्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “मूल्य कम पाए पनि बजार नपाउने चिन्ता टरेको छ ।”

“सत्र जनाले रु एक–एक लाख लगानी गरेर उद्योग सञ्चालन गरेका हाँै”, मालिका महिला उद्यमी कम्पनीका कोषाध्यक्ष सिर्जना पण्डितले भन्नुभयो, “हातले घरेलु प्रविधिबाट कात्तिकदेखि मस्यौरा बनाउन थालेका थियौँ, बजारको मागबारे बुझेपछि थप लगानी गरेर मेसिनबाट उत्पादन गर्न थालेका छौँ ।” उत्पादनका लागि बजारको समस्या नभएको उहाँको भनाइ छ ।

“बिक्रीका लागि समस्या छैन, काठमाडाँैबाट हाम्रो उत्पादन लिन फोन आइरहेका छन्”, उहाँले भन्नुभयो, “हामीले उद्योग सञ्चालन गरेपछि मुला, कुपिण्डो र पिडालु यही खपत हुने भएको छ ।” “यस क्षेत्रमा उत्पादन भएको कुपिण्डो र पिडालु सस्तो मूल्यमा भारतीय व्यापारीले घर–घरबाट लिने गरेका थिए, अब हामीलाई दिने भएका छन्”, उहाँले भन्नुभयो । महिलाहरूले गुन्द्रुक तयार गर्न आवश्यक साग हाटबजारमा गएर खरिद गर्ने गरेका छन् भने पिडालु र कुपिण्डो खोज्न गाउँ–गाउँ जाने गरेका छन् । सबैको समान सहभागिताका आधारमा आफैँले काम गरिरहेका उहाँले बताउनुभयो ।

मालिका महिला उद्यमी कम्पनीका अध्यक्ष कल्पना जैसीले महिलालाई रोजगारसँग जोड्न उद्योग खोल्ने सल्लाह गरेर उद्योग स्थापना भएको बताउनुभयो । “कच्चा पदार्थ स्थानीयस्तरमै पाइने, राम्रो व्यवस्थापन गरेमा स्वदेश तथा विदेशमा राम्रो बजार भएकाले हामी उत्पादनमा लागेका हौँ”, उहाँले भन्नुभयो, “महिलाहरू पनि आयआर्जनका कार्यमा लाग्नुप¥यो भनी हामी काममा जुटेका छौँ ।”

महिलाले उत्पादन गरेका सामान व्यापार महासङ्घले बजारीकरण गरिदिने बताएको छ । “हामीले उद्योगमा करोडौँ लगानी गर्ने, एकै दिनमा धेरै उत्पादन गर्ने, अझै ठूला मेसिन थप्ने योजना छ”, उहाँले भन्नुभयो, “दैनिक सयौँ जना महिलालाई रोजगार दिने वातावरण बनाउँछौँ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?