भीमदत्तमा एकीकृत तरकारी बजार निर्माण हुँदै

कालिमाटी फलफूल तथा तरकारी बजार

दोधारा चाँदनी:कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नं ४ मा एकीकृत तरकारी बजार निर्माण गरिरहेको छ ।

नगरपालिकाले रु साढे पाँच करोड लागतमा उक्त बजार निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले जानकारी दिनुभयो । “कृषिउपज सामग्री, मीट मार्ट र कृषि औजारसमेत उक्त बजारमा उपलब्ध हुनेछन्”, उहाँले भन्नुभयो, “एक सय ५० सटर निर्माण भइरहेका छन्, त्यसमै शीतभण्डारसमेत निर्माण हुन्छ ।” उहाँले दुई प्याकेजमा ठेक्का सम्झौता भएर काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार २०७७ साउन २५ मा रु एक करोड ७० लाखमा एमडी ग्रुप प्रालीसँग २०७९ असार २० मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । समयमा काम सम्पन्न हुन नसक्दा अहिले उक्त कम्पनी म्याद थप पक्रियामा छ ।

त्यसैगरी रु तीन करोड ९९ लाखमा २०७७ जेठ ११ मा एम के नीरज निर्माण कम्पनीसँग २०८० जेठ ११ मा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । अहिले उक्त निर्माण कम्पनीले काम गरेको भुक्तानी नपाउँदा निर्माणको काम प्रभावित बनेको छ । “नगरपालिकासँग बजेट नहुँदा निर्माण व्यवसायीको काम गरेको भुक्तानी गर्न सकिएको छैन”, इञ्जिनीयर भट्टले भन्नुभयो, “निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम प्रभावित बनेका छ ।”

यहाँका स्थानीयले भने नगरपालिकाले निर्माण गर्न लागेको तरकारी बजारले कृषकलाई सहयोग पुग्ने बताएका छन् । स्थानीय महेश जोशीले किसानका लागि अहिले ‘कोल्डस्टोर’को आवश्यकता भएकाले कोल्डस्टोर निर्माण गरिनुपर्ने बताउनुभयो । “सबै किसिमका कृषि सामग्री एकै ठाउँमा उपलब्ध हुनु राम्रो हो”, उहाँले भन्नुभयो, “अहिलेको आवश्यकता कोल्डस्टोर हो, यसले किसानलाई धेरै फाइदा पुग्छ ।”

महेन्द्रनगरस्थित सब्जीमण्डीमा तकारीको व्यवसाय गरिरहेका किशोर सुनारले कोल्डस्टोरको सुविधा नहुँदा किसानको उत्पादन खेर गइरहेको बताउनुभयो । “अहिले यहाँको स्थानीय टमाटर प्रतिकिलो रु १० का दरले बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँको उत्पादन सकिएपछि मूल्य बढ्छ, त्यसैले अहिले उत्पादन भएको तरकारी कोल्डस्टोरमा राख्नसके उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्छ ।” मौसमका बेला प्रशस्त तरकारी उत्पादन हुने कञ्चनपुरमा हालसम्म एउटा पनि कोल्डस्टोर छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments