पुष्प मेलामा लक्ष्यभन्दा ३२ लाख बढी कारोबार

काठमाडौँ:यही चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ ।

पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा रु एक करोड सात लाख बराबरको कारोबार भएको बताइएको छ । मेलामा ३९ हजार तीन सय ५० जनाले अवलोकन गरेका थिए । आयोजकले मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिएको भए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

मेलामा विशेषगरी नयाँ प्रजातिका घरभित्र सजाउन प्रयोग गरिने फूल र घरबाहिर बगैँचामा सजावटका लागि प्रयोग गरिने फूल उपभोक्ताको रोजाइमा परेको पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “कोरोनाले महामारीको रूप लिएको वर्षमा बाहेक विगत २० वर्षदेखि हरेक वर्ष मेला गर्दै आएका छौँ तर यति राम्रो कारोबार अहिलेसम्म भएको थिएन, बजारमा फूलको माग बढेछ ।” फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सञ्चालन गरिएको मेलामा ७० कक्षमा चार सय ५० भन्दा बढी फूल बिरुवाको प्रदर्शनमा राखिएको थियो ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । कोरोना महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यस वर्ष लक्ष्यमा पुग्न निकै सहज हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?