नेपालमा भैंसी पालन: वर्तमान अवस्था, चुनौती र प्रमुख जातहरू
नेपालको कृषि क्षेत्रमा पशुपालनको विशिष्ट महत्त्व छ, जसमा भैंसी पालनले ग्रामीण अर्थतन्त्र र पोषण सुरक्षामा ठूलो योगदान पुर्याउँदै आएको छ। पछिल्लो समय नेपालमा परम्परागत निर्वाहमुखी भैंसी पालनबाट व्यावसायिकतातर्फको रूपान्तरण सुरु भएको छ। राष्ट्रिय कृषि गणना २०७८ ले भैंसी पालनको क्षेत्रमा केही चाखलाग्दा परिवर्तनहरू देखाएको छ।
राष्ट्रिय कृषि गणना २०७८ को नतिजा अनुसार नेपालमा भैंसी पाल्ने कृषकहरूको संख्यामा केही गिरावट आएको छ। १० वर्षअघि करिब १६ लाख ६९ हजार कृषक परिवारले भैंसी पालन गरिरहेकोमा हाल यो संख्या घटेर १४ लाख १७ हजारमा झरेको छ।
यद्यपि, संख्यात्मक रूपमा किसान घटे पनि व्यावसायिकतामा भने वृद्धि भएको देखिन्छ। हाल देशभर राँगा र भैंसीको कुल संख्या २९ लाख २३ हजार रहेको छ, जसमा दूध दिने भैंसीको संख्या मात्रै करिब १६ लाख ६७ हजार छ। यसले के संकेत गर्छ भने धेरै संख्यामा थोरै भैंसी पाल्ने पुरानो चलन हराउँदै गएको छ र कम संख्यामा कृषकहरूले धेरै र उन्नत जातका भैंसी पाल्न थालेका छन्।
नेपालमा प्रचलित भैंसीका जातहरू
नेपालको भौगोलिक बनावट अनुसार विभिन्न स्थानमा स्थानीय र उन्नत जातका भैंसीहरू पाल्ने गरिन्छ। विशेषगरी तराईमा उन्नत मुर्रा र पहाडी भेगमा स्थानीय जातका लिमे, पार्कोटे तथा गड्डी भैंसीहरू लोकप्रिय छन्।
१. स्थानीय जातहरू
-
लिमे भैंसी:
यो गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ र लमजुङ जिल्लाहरूमा मुख्य रूपमा पाइन्छ। यो स्थानीय भैंसीहरूमध्ये सबैभन्दा सानो जातको भैंसी हो। यसको सिङ हँसिया आकारको र घाँटीतिर घुमेको हुन्छ। यसको औसत शारीरिक तौल ३१० देखि ३१५ केजी हुन्छ भने एक बेतमा यसले करिब १०४८ लिटर दूध दिन्छ। निश्चित क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षण आवश्यक देखिएको छ। -
पार्कोटे भैंसी:
मध्य पहाडदेखि उच्च पहाडी भेगसम्म पाइने यो जातको भैंसी प्रायः कालो रङको हुन्छ, तर कतई खैरो रङमा पनि भेटिन्छ। यसको अनुहार लाम्चो, टाउको चेप्टो र सिङ तरवार आकारको भई पछाडितर्फ फर्केको हुन्छ। यसले प्रतिबेत औसत १००० लिटर दूध उत्पादन गर्दछ। -
गड्डी भैंसी:
सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा यसको उत्पत्ति भएको हो। यसको निधारमा सेतो थोप्ला (तारो) हुनु यसको मुख्य पहिचान हो। लामो अनुहार, फराकिलो निधार र अर्ध-घुमाउरो सिङ हुने यो भैंसीको शरीर ४५२ केजीसम्मको हुन्छ। यसले दैनिक औसत ३.५ लिटर दूध दिन्छ। हाल यसको संख्या घट्दो क्रममा रहेकाले संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ।
२. उन्नत जात
-
मुर्रा भैंसी:
भारतको हरियाणाबाट उत्पत्ति भएको यो जात नेपालको तराई र बेंसीहरूमा अत्यन्तै लोकप्रिय छ। निक्खर कालो रङ, छोटो र कसिएको घुमेको सिङ, विकसित फाँचो र लामो पुच्छर यसका विशेषता हुन्। यो भैंसी ४५० देखि ५०० केजीसम्मको हुन्छ र यसले एक बेतमा १५०० देखि २५०० लिटरसम्म प्रशस्त दूध दिन्छ। व्यावसायिक दूध उत्पादनका लागि यो सबैभन्दा उपयुक्त जात मानिन्छ।
नेपालमा भैंसी पालन गर्ने कृषकको संख्या घट्नुले खेतीपातीमा आएको यान्त्रिकीकरण र वैदेशिक रोजगारीको प्रभावलाई पनि झल्काउँछ। तर, दूधको माग बढ्दै जाँदा व्यावसायिक भैंसी पालनमा युवाहरूको आकर्षण पनि देखिन थालेको छ।
हाम्रा स्थानीय जातहरू (लिमे, पार्कोटे, गड्डी) कम लागतमा पाल्न सकिने र स्थानीय हावापानी सुहाउँदो भएकाले यिनीहरूको वंशानुगत संरक्षण गर्नु अपरिहार्य छ। अर्कोतर्फ, उत्पादन वृद्धिका लागि मुर्रा जस्ता उन्नत जातको नश्ल सुधार कार्यक्रमलाई व्यापक बनाउनु पर्छ। सरकारले पशु बीमा, सहुलियत ऋण र दाना-चोकरमा अनुदान जस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गर्न सके भैंसी पालन क्षेत्रबाट देशलाई दुग्धजन्य पदार्थमा पूर्ण आत्मनिर्भर बनाउन सकिन्छ।
