बर्खा नलाग्दै पहिराको चिन्ता

बलेवा:आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन ।

घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिराले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने विस्तारै चिन्ताले पिरोल्न थालेको छ ।

गत भदौ २१ गतेबाट सुरु भएको पहिरो असोजको अन्तिमसम्म रोकिएन । दशैँका बेला एक साता निरन्तर वर्षा हुँदा पहिरो निरन्तर बगिरह्यो । गाउँले घर छाडेर छिमेकमा बसे । हिउँद लागेपछि आफ्नै घर फर्किएका गाउँले आउँदो बर्खायाममा फेरि घर छाड्नुपर्ला कि भन्ने चिन्तामा छन् ।

“हिउँदमा त दिन काटियो तर बर्खामा घर बस्न सकिँदैन”, स्थानीय कुलराज शर्माले भन्नुभयो, “अन्त जाने ठाउँ छैन, घरमै बस्ने वातावरण छैन ।” पहिराका कारण घर चर्किएका स्थानीय ढालनाथ शर्माले घर छाडेर हिँड्नुभयोे । पोखरामा रहेका छोराले कोठा भाडामा लिएर उहाँलाई पोखरा लानुभयो । कुलराज शर्मा, नैनकली केसी र वीरबहादुर केसीका घर गोठ चर्केका छन् ।

“पहिराले घरगोठ नपुरेसम्म सरकारले केही नदिने रहेछ, हामी त दिनरात तड्पेर बसेका छौँ”, शर्मा भन्नुहुन्छ, “घरगोठ सग्ला छन् तर भरिला भएनन् ।” आउँदो बर्खाको चिन्ता हिउँदबाटै सुरु भएको शर्माको गुनासो छ । अघिल्लो बर्खा सकिनैलाग्दा सुरु भएको भीषण पहिराबाट हिउँदमा भएको वर्षामा समेत माटो बगिरहेको थियो ।

“पहिराको प्रभाव गाउँका अन्य ११ घरमा पनि परेको छ, पूर्ण प्रभाव परेका सात घर छन्”, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भन्नुभयोे, “पहिरो नियन्त्रणको प्रयास भइरहेको छ, बस्ती स्थानन्तरण गर्न सकिएन, यो कठिन काम रहेछ ।” हिउँदभरि प्रयास गरेर पहिराको अध्ययन गर्ने, भलबाढी तर्काउने र सम्भावनाको खोजी गर्ने काममात्रै गर्न सकिएको उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिकाले पहिरो नजिक जाने भल तर्काएको छ । घरगोठ नजिक भल नजाने गरी निकास दिइएको वडाध्यक्ष गौतम बताउनुहुन्छ । “हामीले बस्ती स्थानान्त्रण गर्न खोजेका छौँ, तर जग्गाको अभाव छ”, उहाँले भन्नुभयो, “वडाभित्र उपयुक्त जग्गा छैन, बाहिर कसले दिन्छ र ?”

वडामै रहेको जग्गामा बस्तीमात्रै स्थानान्तरण गरे पनि पीडित घर छाडेर हिँड्ने मानसिकतामा नरहेको गौतम बताउनुहुन्छ । खेतीपातीका कारण सर्वसाधारणले आफू बस्दै आएको ठाउँ छाड्न नमानेको उहाँले बताउनुभयो । डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ–११ को रायडाँडास्थित रामतोलामा प्रदेश सरकार र बागलुङ नगरपालिकाको ध्यान जान आवश्यक छ । “जिल्लास्थित बिपद् व्यवस्थापन समितिमार्फत निर्णय गराएर बस्ती स्थानन्तरणका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छौँ ।

पहिराले जैमिनी नगरपालिका–१ वडारको वस्ती पनि जोखिममा छ । गत साताको वर्षापछि पहिरोले माटो बगाउँदा बृहत् कुश्मीशेरा खानेपानी आयोजनाको मुहान बगाएको छ । वडारका केही परिवार पहिराका कारण विस्थापित हुने अवस्थामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?