ग्रामीण बस्तीमा अझै इन्धनका लागि ‘गुइँठा’ र ‘चिपरी’ कै भर

महोत्तरी:खाना पकाउन थरिथरिका आधुनिक प्रविधि भित्रिए पनि महोत्तरीका ग्रामीण बस्तीमा अझै इन्धनका लागि ‘गुइँठा’ र ‘चिपरी’ कै भर छ । वस्तुभाउको गोबर सङ्कलन गरेर ‘गुइँठा’ ‘गोरहा’ र ‘चिपरी’ बनाउन अहिले ग्रामीण बस्तीका महिला लागि परेका देखिन्छन् । ग्रामीण क्षेत्रमा ‘गुइँठा’ र ‘चिपरी’ का लागि गोबर सङ्कलन गर्न, सुकाउन र चाङ् लगाएर राख्न व्यस्तता बढेको छ ।

गोबर मुछेर भित्रपट्टि छेस्काछेस्की राखेर बनाइनेलाई ‘गुइँठा’ (गोरहा) र चाक्लो (थाल आकार) को लाई ‘चिपरी’ भनिन्छ । मधेशमा खाना पकाउने इन्धनको मुख्य स्रोत मानिने यो काममा महिला व्यस्त देखिन्छन् । पहिले पहिले किसान परिवारमा पशु पाल्ने आम चलन हुँदा आफ्नै बस्तुको गोबरले पुग्ने गरेको भए पनि पछिपछि बस्तुभाउ घट्दै गएपछि चरनक्षेत्र, पानीघाट र बाटोघाटोमा बस्तुभाउले गोब्य्राउने गोबर टिप्न महिला व्यस्त देखिन्छन् ।

जिल्लाका सबैजसो ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिन्छन् । जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा वर्षायाम अघिको गर्मी याममा अहिले यो काममा गृहिणी लागेका हुन् ।

“के गर्नु पकाएर खानु परिहाल्छ”, यही काममा व्यस्त देखिनु भएकी औरही–१ औरहीबजार बस्तीकी शीलावती देवीले भन्नुभयो, “बर्खा लाग्नु पहिले नै गुइँठा, चिपरी थन्क्याइएन भने दुःख पाइन्छ ।” खासमा बर्खायामका लागि आवश्यक इन्धनको जोहो अहिले नै गर्नुपर्ने हुँदा यो काम अहिले मुख्य बनेको गृहिणी बताउँछन् ।

अरुबेला खेतबारीका झिक्राझिक्री पनि बाल्न प्रयोग गर्न सकिने भए पनि बर्खामा सबै भिज्ने हुँदा थन्क्याएर राखेको ‘गुइँठा’ र ‘चिपरी’कै भर हुने गृहिणीको भनाइ छ । “के गर्नु ? खाना पकाएर ख्वाउने जिम्मा घरका महिलाकै हुन्छ, आफैंँले पछि पाउने दुःख सम्झेर पनि अहिले गोबर खोज्नदेखि गुइँठा र चिपरी बनाउन, चाङ लगाएर सुकाउन र राम्ररी थन्क्याउन परेको हो”, भङ्गाहा–४ रामनगर बस्तीकी रामसखी साहले भन्नुभयो ।

अहिले चर्को घाममा ‘चिपरी’ र ‘गुइँठा’ चाँडै सुक्ने भएको हुँदा गृहिणीले यसलाई मुख्य काम बनाएका छन् । वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ बनाउनुलाई ‘पाथ्ने’ वा ‘पथार्ने’ भनिन्छ । घरमा पशु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरनक्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घर वरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ ।

यसरी दुई÷तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई÷तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ । यसरी बनाइएका ‘गुइँठा’ र ‘चिपरी’ घाम राम्रो लाग्ने ठाउँमा चाङ् लगाएर राखिन्छ । यस्तो चाङ् एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकता अनुसार खाना पकाउन प्रयोग गरिन्छ ।

मध्यपूर्वी तराईक्षेत्रमा घरपालुवा पशुबस्तु (गाई, गोरु, भैँसी र राँगा) को गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् । “खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै भङ्गाहा नगरपालिका–६ हतिसर्वाका किसान रामलक्षण यादव भन्नुहुन्छ,“खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।”

अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वराशक्ति ह्रास भएर यहाँका जग्गा ढड्यान (उब्जा नहुने रुखो जग्गा) बन्ने किसान बताउँछन् । सरकारले सर्वसाधारण किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वन सम्पदा (दाउरा) मा पहुँच बढाउन पहलकदमी लिनुपर्ने यादवको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?