गाउँमा सूचना पाउन अझै कटुवालकै भर

लमजुङ:लमजुङको गाउँ गाउँमा प्रायःजसो सबैको हात हातमा मोबाइल सेट छ । यसमा इन्टरनेटका माध्यमबाट संसारभरीको खबर प्राप्त गर्ने गरे पनि क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँ, घिचे, घाम्राङबँेसी, साल्मेलगायतका गाउँमा स्थानीयवासीले आफ्नै गाउँको खबर प्राप्त गर्न कटुवालको भर पर्नुपर्छ ।

यहाँ अझै कटुवालकै भरमा सूचना दिने चलन कायम छ । घाम्राङ गाउँका दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान टाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् । कटुवाल गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेका वा हुनेवाला नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका बासिन्दालाई सामूहिक रुपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवाल प्रथा कायमै छ ।

गाउँमा हुने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायत काममा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिथितीअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउने, गाईभैँसी लेकमा लैजानेलगायत कामका लागि पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडा सदस्य खमाया गुरुङले बताउनुभयो ।

“गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति कटुवाल नै हो । यस वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको छ”, उहाँले भन्नुभयो ।

घाम्राङ गाउँका गमप्रसाद गुरुङले भन्नुभयो, “विश्वभरका समाचार तथा विभिन्न खबर प्राप्त गरे पनि गाउँका समाचार तथा खबर भने कटुवाल कराएपछि मात्र थाहा पाउने गरेको छु ।” अन्य स्थानीयवासीले पनि यसरी नै गाउँका खबर कटुवालमार्फत पाउने गरेका उहाँको भनाइ छ ।

वडासदस्य गुरुङ वडा कार्यालय बाहेक गाउँका खबर कटुवालमार्फत जानकारी प्राप्त गर्ने गरेको बताउनुहुन्छ । “यहाँ वर्षौँं पहिलादेखि कटुवालको चलन थियो, यसलाई निरन्तरता दिन म कटुवाल बन्नुपरेको हो”, उहाँले भन्नुभयो ।

कटुवाल कराएबापत गुरुङले गाउँलेबाट सामूहिक रुपमा वार्षिक पाँच मुरी धान र एक मुरी कोदो प्राप्त गर्नुहुन्छ । बर्सेनि गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन छ । काम परेको बेला कटुवाल कराउने तर अन्य समयमा उहाँ खेतीपाती गर्दै परिवार धान्दै आउनुभएको छ ।

कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर गुरुङले आउने नगद आम्दानीले परिवारको गुजारा चलाउँदै आउनुभएको छ । यहाँ चलन कायम रहेकाले यसलाई बचाउनका लागि कटुवालको महत्व तथा संरक्षण आवश्यक रहेको छ ।

कसदरमुकामस्थित बेँसीसहर नगरपालिका–१० खासुर गाउँका स्थानीयवासी पनि गाउँको समाचार प्राप्त गर्न कटुवालको भरपर्दै आउनुभएको छ । स्थानीय दूधप्रसाद घलेका अनुसार टोल टोलमै पुगेर कटुवाले कराएर गाउँलेले सूचना प्रदान गर्दै आएका छन् । सो गाउँका गाउँबेँसी, लेतेफाँट, कल्लेरी र डाँडागाउँमा यसरी सूचना दिने चलन छ ।

स्थानीय कालु दमाइ करिब २० वर्षदेखि यसरी नै उक्त टोलमा पुगेर कराएर सूचना दिँदै आउनुभएको छ । यसरी कराएबापत उहाँले वर्षमा धान, मकै, कोदोलगायत अन्नबाली गाउँलेबाट उठाउने गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?