चैते धानले जीविकोपार्जनमा सहज

घोराही: दाङको राजपुर गाउँपालिका–३ का किसान देवबहादुर पुनले यो वर्षपनि चैते धान रोप्नुभएको छ । सिँचाइका लागि पर्याप्त पानी हुने भएकाले चैते धान रोपेको उहाँले बताउनुभयो ।

गर्मी मौसम सुरु भएसँगै अन्य स्थानमा खडेरी परेको समयमा उहाँले पानीले सिञ्चित भएको करिब चार कठ्ठा खेतमा चैते धान रोप्नुभएको छ ।

चैते धानका लागि पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको पुनको भनाइ छ । “चैते धानका लागि पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रो हुन्छ”, पुनले भन्नुभयोे, “जस्ले गर्दा निरन्तर चैते धान रोप्दै आएको छु । र, यसले गर्दा यहाँ दुई बाली धान उत्पादन हुने गरेको छ ।

एकबाली मात्रै खेतीले परिवारलाई खान र लाउन समेत नपुग्ने र दुई बाली धान खेती गर्दै आम्दानी बढ्ने समेत उहाँको भनाइ छ ।

बङ्गलाची गाउँपालिका–४ गहतेराका डोरबहादुर घर्तीमगर पनि अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । डोरबहादुरले सुकाखोलाको पानीले सिञ्चित भएको करिब १४ कठ्ठा खेतमा चैते धान रोपिरहेको बताउनुभयो ।

“घर पहाडमा छ, यहाँ धान बाहेक अरु अन्नबाली बाँदर, बँदेलले खाएर सिध्याइदिन्छन्”, उहाँले भन्नुभयोे, “धान रोप्दा जङ्गली जनावरबाट जोगाउन समेत सजिलो पर्ने गर्दछ ।”

डोरबहादुर जस्तै गहतेरा निवासी गोपाल घर्तीमगरलाई पनि चैते धान रोप्न चटारो छ । सुकाखोलाको पानीले सिञ्चित खेतमा वर्षाको समय जस्तै उहाँको परिवार पनि खेत जोत्ने, पानी मिलाउने, ब्याड काट्नेदेखि धान रोप्नमै बेस्त छ ।

उहाँले करिब पाँच कठ्ठा खेतमा चैते धान रोप्न थालेको बताउनुभयो । फुर्सदको समयमा चैत धान खेती थप आम्दानीको स्रोत बन्ने भएपछि लामो समयदेखि चैते धान खेती गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले चैतको अन्तिमतिर रोपेर सक्नुपर्ने धान खेती यसवर्ष केही ढिला भएको बताउनुभयो ।

“फागुनमा राखेको धानको ब्याड चैत अन्तिमतिर रोप्नुपर्ने हो”, घर्तीले भन्नुभयो, “नयाँ वर्षसँगै घरको कामले केही ढिलाइ भएको थियो ।” बेमौसमी खेतीका रुपमा रोपिने चैते धानबाट राम्रो आम्दानी हुने भएपछि आफ्नो परिवारले धेरै पहिलेदेखि नै चैते धान रोप्दै आएको बताउनुभयो ।

चैते धानबाट राम्रो आम्दानी गर्ने गरेपनि वर्षाको समयमा धान भित्र्याउन समस्या हुने उहाँको भनाइ छ । उहाँहरु मात्र नभइ हिउँदे बाली भित्र्याउन र फुर्सदिलो बन्ने समयमा बङ्गलाचुली गाउँपालिका–३ र ४ र घोराही उपमहानगरपालिका– १ सुका खोलाका अधिकांश किसानले चैते धान रोप्ने गरेका छन् । वर्षमा दुई बाली धान खेती गर्ने उनीहरु चैते धान खेतीबाट राम्रो आम्दानी लिने गरेको समेत बताउँछन् ।

कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बङ्गलाचुली गाउँपालिका ३ र ४ सँगै देउखुरीका विभिन्न स्थानमा चैते धानखेती हुने गरेको छ । तर चैतमा रोपिने धान वर्षाको समयमा घरमा भित्र्याउन समस्या हुने गरेपछि जिल्लाका केही स्थानमा गर्दै आएका किसानले भने खेती गर्न छोडेका छन् ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करिब दुई हजार पाँच सयभन्दा बढी हेक्टरमा चैते धान खेती हुने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?