वन्यजन्तुका लागि पोखरी निर्माण

म्याग्दी:वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले चालू आर्थिक वर्ष २०७९÷८० मा म्याग्दीका छ सामुदायिक वनमा वन्यजन्तुका लागि पानी पिउन पोखरी निर्माण गरिएका हुन् ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “वन्यजन्तु पानी र आहराको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो,” उहाँले भन्नुभयो “वनमै पानी र आहरा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन छवटै स्थानीय तहमा एक÷एक सामुदायिक वन उपभोक्ता समूह छनोट भएका थिए । छनोट भएका सबै समूहले कार्य सम्पन्न गरेका हुन् । करिब ६२ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर रहेको छ । प्रतिपोखरी निर्माणका लागि रु एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु ९६ हजारका दरले भुक्तानी दिइने छ ।

बेनी नगरपालिका–७ का बराहपाखो, धवलागिरि–७ को भगवती महिला, अन्नपूर्ण–८ को घुमाउने कोखे सल्लेरी, मङ्गला–२ को खुम्लीया, मालिका–६ को दह, रघुगङ्गा–१ को बादुक भूमेबराह सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।

गत आर्थिक वर्ष २०७८÷७९ मा म्याग्दीका दश सामुदायिक वनमा वन्यजन्तुका लागि पोखरी निर्माण गरिएका थिए । दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाले जङ्गलको बिचमा खाडल खनेर बनाएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर सङकलन गरिएको बताउनुभयो । पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु गौतमले पोखरीले जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताउनुभयो । जङ्गलमा निर्माण भएको पोखरीको पानीले डढेलो लागेमा त्यसलाई निभाउन पनि सहज हुने उहाँले बताउनुभयो । पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् ।

आहरा र पानीका लागि बस्ती नजिक आउने रतुवा, मृगलगायत जन्तु खोज्दै मानव बस्तीमा पुग्ने चितुवाले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?