छिट्टै कृषि ऐन ल्याइन्छ : कृषिमन्त्री भुसाल

काठमाडौँ:कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने बताउनुभएको छ ।

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले यस क्षेत्रमा भएका समस्या समाधान गर्न कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर ऐन ल्याउने तयारी भइरहेको बताउनुभयो । मुलुकमा कृषि उपज बढाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि मल, बीउबिजन, विषादी न्यूनीकरण, यान्त्रिकीकरण, बजारीकरणको व्यवस्थापनमा महत्त्व दिएर कृषकलाई सहुलियत दिने गरी ऐन ल्याउन विज्ञसँग छलफल लिइएको बताउनुभयो ।

मन्त्री भुसालले स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै सबैभन्दा ठूलो कुरा कामप्रतिको लगाव महत्त्वपूर्ण रहने बताउनुभयो । हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी जाँचसम्बन्धी नयाँ निर्णय गरेको भन्दै यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचे जस्तो काम हुन नसकेको भन्दै यतातर्फ गम्भीर हुन कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो ।

कृषि उपजको प्रयोगमा उपेक्षा हुन थालेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले मानवीय स्वास्थ्यसँग सम्बन्धित विषयमा गम्भीर रहेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । कानूनको अभावमा काम हुन नसक्ने स्थिति आए सरकारलाई खबरदारी गर्नुपर्ने भन्दै उहाँले अरु काम सम्बन्धित कार्यालयको हुने बताउनुभयो । सबै आआफ्नो काममा लागे मात्रे सोचेजस्तो सफलता हात पर्ने उहाँको भनाइ थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?