पूर्वी नाकाबाट रू एक अर्ब ४४ करोडको तरकारी आयात

बनियानी: झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।

यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

उक्त अवधिमा रू १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रू १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो ।

उक्त नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालू आवको चैत मसान्तसम्म सबैभन्दा धेरै रू १४ अर्ब ५० करोड ३३ लाख बराबरको हवाई स्प्रिट आयात भएको छ ।

त्यस्तै जुट रू दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास रू दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना रू एक अर्ब ६० करोड २९ लाख, तरकारी रू एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन रू ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ रू ९५ करोड ५६ लाख, दाल रू ८४ करोड ४१ लाख, कपडा रू ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन रु ८० करोड ५५ लाखको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै रू छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ । फलामजन्य सामग्री रू दुई अर्ब ९८ करोड ९९ लाख, चिया रू दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड रू एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो रू ७२ करोड ९० लाख, अदुवा रू ४३ करोड ५२ लाख, पशु आहार रू ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी रू २८ करोड ८४ लाख, दलहन रू २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ रू २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?