किसानलाई उन्नत जातको धानको बीउ वितरण

धानको समर्थन मूल्य

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार एक सय ५० किसानलाई धानको बीउ वितरण गरिएको हो । किसानलाई सावा मन्सुली, राधा–४, सर्जु–५२, रामधान, सावित्री र सुक्खा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताउनुभयो ।

“समूह, सहकारी, फर्म र व्यक्तिगतरुपमा किसानको मागअनुसारको धानको बीउ वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “रु ६६ प्रति किलोका हिसाबले धानको बीउ खरिद गरी किसानलाई रु ३३ मा उपलव्ध गराएका छौँ ।” एक हजार पाँच सय २० किलो धानको बीउ किसानलाई वितरण गरिएको उहाँले बताउनुभयो ।

धानको बीउका लागि नगरपालिको रु छ लाख बढी रकम खर्च गरेको छ । मसिनो र बढी उत्पादन दिने नगरपालिकाको माटो सुहाउँदो धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख बुढाऐरको भनाइ छ । “वितरण गरिएको धानको बीउ दुई सय बढी बिघा क्षेत्रफलमा रोप्नका लागि पुग्छ”, उहाँले भन्नुभयो, “धानको उत्पादन बढेसँगै किसानको आयस्तरमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।” नगरपालिकामा छ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

त्यसको उत्पादन २० हजार मेट्रिकटन रहेको छ । धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहित गर्न बीउ, कृषि औजार, यन्त्र, मलखाद, विषादी र प्रविधिमा सहयोग गर्ने कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो । धानको उत्पादनलाई पाँच वर्षभित्र दोब्बर पार्ने नगरपालिकाको लक्ष्य रहेको उहाँले जनाउनुभयो ।

“नगरपालिकामा कृषिलाई आधुनिकीकरण गर्न अनुदानका कार्यक्रमसँगै किसानलाई तालिम दिने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रको अध्ययन गर्न र तथ्याङ्क सङ्कलन गर्नका लागि कन्सलटेन्ट नियुक्त गरी कार्य अगाडि बढाइएको छ ।” सङ्कलित तथ्याङ्कका आधारमा नगरपालिको कृषिका लागि दीर्घकालीन योजना बनाइ कार्यान्वयनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments