विश्व दूध दिवस : दूध उत्पादनबाट विदेशभन्दा राम्रो कमाइ,बढ्यो दूधको मूल्य

दूधमा अनुदान

गलेश्वर:आज विश्व दूध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायको उपस्थितिमा विश्व दूध दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।

विश्वमा दूध दिवस २००१ बाट मनाउन थालिए पनि नेपालमा भने सन् २०११ बाट यो दिवस मनाउने गरिएको छ । हिमाली जिल्ला म्याग्दीमा पनि पछिल्लो समय व्यावसायिक पशुपालन र दुग्ध व्यवसायप्रतिको आकर्षण बढ्दै गएको छ । विदेशबाट फर्केका युवा धेरैजसो व्यावसायिक पशुपालनमा लागेका छन् । म्याग्दी जिल्ला दूध र दुग्धजन्य पदार्थले आत्मनिर्भर बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ ।

दश वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँ फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका–सात कुरिलाखर्कका ३९ वर्षीय युवा सुरेश ढुङ्गाना पेसा, परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्नुका साथै परिश्रम गर्ने हो भने विदेशकोभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल हुनुभएको छ ।

“प्रायः नेपाली युवा विदेश जानका लागि मरिहत्ते गर्छन्, विदेश जानका लागि भएको घरजग्गा धितो राखेर ऋण लिन्छन्, गाउँमै रहेका आयआर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी भ्रममा आफ्नो जिन्दगीका उर्वर दिन खेर फालिरहेका हुन्छन्”, ढुङ्गानाले भन्नुभयो, “तर, परिश्रम गर्ने हो भने विदेशकोभन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावना हामीसँग छन्, हामी त्यो कुरा बुझ्दैनौं ।”

स्वदेशमै सम्भावना देखेर गाउँ फकिएका ढुङ्गानालाई गाउँ आएपछि साथीले अमेरिका जान उचाले पनि उहाँले अमेरिका जाने होइन गाउँमै त्यहाँभन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो । नौ वर्ष पहिले कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएका ढुङ्गानाको फार्ममा अहिले २२ मुर्रा जातका भैँसी र दुई जर्सी गाई दुहुना छन् । ती भैँसी र गाईबाट दैनिक एक सय ५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुङ्गानालाई मासिक रु चार लाख आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक करिब रु दुई लाखको हाराहारीमा बचत हुने उहाँको भनाइ छ । फार्ममा अहिले रु ५० लाखजति लगानी भइसकेको उहाँले बताउनुभयो । भैँसीलाई चाहिने घाँसका लागि उहाँले सार्वजनिक पाखो जग्गा भाडामा लिनुभएको छ ।

“बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु, समय गएको पत्तै हुँदैन, साँझपख बजारमा दूध पु¥याउन जान्छु, सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक एक सय ५० लिटर दूध पु¥याएपछि बल्ल शरीरमा फुर्ति आउँछ”, ढुङ्गानाले भन्नुभयो ।

प्रतिलिटर रु ९० मा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो । ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पु¥याउनुहुन्छ । “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ, तर गुणस्तरलाई खस्कन दिनुहुँदैन”, उहाँले भन्नुभयो ।

पशुपालन व्यवसायमा परिश्रम गर्नसके विदेशमा भन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फार्म बनाउनुभएको छ भने फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । भैँसीको स्याहारसुसारदेखि दूध दुहुने काममा आफँै खटिने ढुङ्गानाले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताउनुभयो ।

ढुङ्गानाको सफलताको कथा यत्तिकैमा सकिँदैन । फापेको भैँसीपालनसँगै उहाँले कुखुरा पालन पनि सुरु गर्नुभएको छ । अहिले उहाँको फार्ममा दुई हजार तीन सय सय ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक रु आठ लाख पुग्छ । गाई, भैँसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उहाँको मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा गर्नेे कमाइभन्दा बढी हुन्छ ।

म्याग्दीमा बढ्यो दूधको मूल्य

यसैबीच म्याग्दीमा गत असारदेखि लागू हुने गरी दूधको मूल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुँदा कृषक मर्कामा परेको गुनासो आइरहेका बेला दूधको मूल्य बढेपछि पशुपालक कृषक खुसी भएका छन् ।

मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू एक सय १० र व्यापारीले अधिकतम रू एक सय ३२ सम्म बिक्री गर्ने गरी दूधको मूल्य निर्धारण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दूधको मूल्य रु ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई रू एक सय २० मा बिक्री गर्ने गरेका थिए । त्यस्तै गाईको दूध प्रतिलिटर रू ८० कायम गरिएको छ ।

मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर रु २० र डेरी व्यवसायीले रु १२ बढी पाउने भएका छन् । केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार डेरी व्यवसायीले किसानबाट खरिद गरेको भन्दा २० प्रतिशत बढी लिन नपाउने बताउनुभयो ।

दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताउनुभयो । “हरेक वर्ष मूल्यवृद्धिअनुसार समायोजन हुनुपर्छ, कृषकको माग सम्बोधन भएको छ”, पौडेलले भन्नुभयो । यता उपभोक्ताले दूध आमउपभोक्तासामु पु¥याउन गुणस्तरमा ध्यान दिँदै मूल्य स्थिर बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपभोक्ताले तिर्ने मूल्यअनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनुगमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवासहित सरोकारवाला निकायले दूध सङ्कलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्याकेजिङ, बजारसम्म ढुवानी, बिक्रेता कमिसनसम्म ध्यान दिँदा दूधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्ने उपभोक्ताको माग छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?