फलफूल र तरकारी भण्डारण गर्न दुई चिस्यान गृह निर्माण

म्याग्दी:रघुगङ्गा गाउँपालिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ को झिँमा २० हजार किलोग्राम क्षमताका चिस्यान गृह निर्माण गरेको हो ।

कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल र तरकारीलाई भण्डारण तथा बजारीकरणका लागि चिस्यान गृह बनाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । “चिस्यान गृह भएपछि कृषि उपजलाई बेमौसममा बढी मूल्य पार्न सकिनुका साथै बजार नपाउने समस्या पनि हट्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “सुन्तला, आलुलगायत तरकारी तथा फलफूललाई दुईदेखि पाँच महिनासम्म समय भण्डारण गरेर राख्न सकिन्छ ।”

माघ–फागुनमा बेग, भगवती, पिप्ले, दग्नाम, झिँ, पात्लेखेत, पाखापानीमा उत्पादन भएको सुन्तला र भदौ र असोजमा कुहिने, चिमखोलाको आलु, दौडे भण्डारण गर्ने योजना बनाइएको छ । चिस्यान गृहको भवनमा फलफूल र तरकारीलाई ताजा बनाइराख्ने अनुकूलित हावापानी बनाउने उपकरण जडान गरिएको छ ।

मौसममा उचित मूल्य नपाउने समस्या पनि चिस्यान गृह सञ्चालन भएपछि हट्ने अपेक्षा गरिएको छ । झिँमा रु २१ लाख ७८ हजारको लागतमा चिस्यान गृह निर्माण भएको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिनुभयो ।

“उपभोक्ता समितिसँग रु २३ लाख ४६ हजार छ सय ६७ मा सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले रु १९ लाख ६० भुक्तानी गरेको, उपभोक्ताले रु दुई लाख १७ हजार छ सय ६० बराबरको श्रमदान गरेका छन् ।”

सङ्घीय सरकारले शसर्त अनुदान शीर्षकमा रु ११ लाख विनियोजन गरेको चिस्यान गृह बनाउनमा गाउँपालिकाले पनि रु ११ लाख विनियोजन गरेको थियो । भगवतीको चिस्यान गृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले करबाहेक रु ७९ लाख ७० हजार ८४ मा ठेक्का सम्झौता गरेको थियो ।

चिस्यान गृहको भवन निर्माण र उपकरण जडानको काम सकेर हस्तान्तरणको चरणमा छन् । यसअघि गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण गरिएको थियो ।

बेनी नगरपालिकाले वडा नं ४ सिंगामा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार बनाउन सुरु गरेको छ । रु एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ लागत अनुमान गरिएको चिस्यान गृह बनाउन राजेशबाबु निर्माण सेवा जाजरकोटसँग रु एक करोड ५१ लख २० हजार सात सय ३८ मा गत फागुन तेस्रो साता सम्झौता भएको नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले बताउनुभयो । आगामी असार मसान्तसम्म सम्झौताको म्याद रहेको सो योजनाको निर्माण कम्पनीले जग्गा व्यवस्थापन र पर्खाल निर्माणको काम सुरु गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?