लूबाट बच्न बढी गर्मीमा घरभित्र बस्न आग्रह

काठमाडौँ:जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ ।

काठमाडाैँ उपत्यकालगायत देशका अन्य उपत्यकामासमेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । साथै पहाडी भूभागका उपत्यका तथा खोँचमासमेत तापक्रम क्रमिकरुपमा बढ्नसक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनसमेत अनुरोध गरिएको छ ।

महाशाखाले तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउन सुझाव दिएको छ ।

साथै नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।

तातो हावा तथा लूबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?