उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौँ:उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ ।

समितिका सदस्य कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रामशङ्कर यादव, सूर्यमान तामाङ (दोङ), कान्तिका सेजुवाल, गणेश पराजुली सदस्य रहनुहुने गरी पाँच सदस्यीय उपसमिति गठन भएको हो । समितिको आजको बैठकले चिनी उद्योग तथा उखु किसानका समस्या तथा सुझाव अध्ययन उपसमिति गठन गरेको छ ।

उपसमितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । ज्येष्ठ सदस्यका रुपमा समिति बैठकको सभापतित्व गर्नुभएका रणेन्द्र बरालीले गर्नुभएको थियो । उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम तथा न्यूनतम सटमर्थन मूल्य नपाएको लगायतका विषयबारे यो उपसमितिले अध्ययन गरेर समितिमा सुझाव पेस गर्नेछ ।

समितिको आजको बैठकमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान प्रभावकारी रुपमा कार्यान्वयन नभएको, आगामी आर्थिक वर्षको बजेटबाट सरकारले करका दरमा गरेको हेरफेरबाट परेको प्रभावलगायतका विषयमा छलफल भएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा परेको उजुरीमाथि छलफल गर्ने आजको कार्यसूची थियो । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले तयार पारेको ‘वैदेशिक रोजगार सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएका आदेशको कार्यान्वयनसम्बन्धी अवधारणापत्र’माथि आजको बैठकमा छलफल भएको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षको बजेटले सुनको भन्सार बढाएको तथा सुनचाँदीलाई विलासिताको वस्तुको रुपमा राखेको विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघको उजुरी र पेट्रोलियम पदार्थमा भएको अनुचित मूल्यवृद्धिबारे उपभोक्ता हित संरक्षण मञ्च–नेपाल को उजुरी माथि पनि छलफल भएको छ । समितिको आगामी बैठकमा यी विषयसँग जोडिएका सम्बन्धित मन्त्रालय तथा निकायका पदाधिकारीलाई बोलाएर छलफल गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments