पानी नै नपरेपछि : निराश असारे पन्ध्र

महोत्तरी:असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर छुपुछुपु धान रोपिने असारे पन्ध्र पर्व यसपालि निराश भएको छ । असार दोस्रो साता बित्दासम्म पर्याप्त पानी नभएर धानको गाबोसम्म पनि लगाउन नपाइएपछि यहाँका किसानलाई यसपालिको असार पन्ध्र निराश बनेको हो । धान रोपाइँसँग मनाइने धान दिवसका दिन रोपाइँको सुरसार नभएपछि किसानमा उल्लास छैन ।

“रोपाइँको के कुरा गर्नु खै ? यसपालि त धुले बीउ राख्ने पानी पनि परेन् । घामको रापले दुबोसमेत मरेको छ”, बर्दिबास–७ मनहरिपुरका किसान नीरबहादुर खत्री भन्नुभयो, “धान रोपिने खेत खङरङ्ग सुकेर खनजोत गर्न सकिएको छैन ।”

मुख्य बालीका रुपमा रहेको धान लगाउन पानी नै नपरेपछि रोपाइँसँग जोडिएको असारे पन्ध्र पर्वको खुसी छाउन नसकेको खत्रीसहित यहाँका किसानको भनाइ छ । अलिपछि पानी परिहाल्ला भन्ने आशमा घरकरेसा नजिक दुःख गरेर राखिएको धानको बीउ ब्याडमै सुकेको छ । माटो गालेर पानी परी हाले पनि बीउको अभावले धान रोप्न नपाइने किसान बताउँछन् ।

“दिनहुँ ब्याडमा पानी छर्केका भरले बीउ जाग्दो रहेनछ, असार–१५ त भइहाल्यो, अब माटो गाल्ने गरी पर्याप्त पानी परे पनि बीउको अभावले रोपाइँ गर्न सकिँदैन” भङ्गाहा–४ पलारका किसान महेश सर्दारले भन्नुभयो । असार लाग्नासाथ आकाशमा बादल मडारिने, वर्षा हुन थाल्ने र सबै किसान रोपाइँमा व्यस्त हुने पुरानो तालिका केही दशकयता कथाजस्तै बन्न थालेको पाका किसान सम्झनुहुन्छ ।

“अखाढ चैढ्ते हमर दादा हवाके गतिके आधारमे बारिस होयबाक÷नई होयबाक अनुमान करैत छला, आ ओ अनुमान ठिक बैठेत छल” (असार लाग्नासाथ मेरा बाजे हावाको गति गमेर वर्षा हुने÷नहुने अनुमान गर्नुहुन्थ्यो, त्यतिखेर त्यो अनुमान मिल्थ्यो) पलारका ८५ वर्षीय किसान चौठी बाँतरले भन्नुभयो, “आब त गर्मी, हवा आ मेघ देख्क कैल कोनो अनुमान नई मिलैय” (अचेल त गर्मी, हावा र बादल हेरेर गरिने अनुमान केही मिल्दैनन्) । के कारणले यस्तो भएको भन्ने जानकारी नभए पनि मानिसले प्राकृतिक सम्पदामाथि मनलाग्दो दख्खल बढाउँदा मौसमका अनुमान मिल्न छाडेका विद्यालयका शिक्षकले सुनाएका बाँतरले बताउनुभयो ।

“झमझम पानीमा रुझेर रोपाइँमा लाग्नुपर्ने बेलामा दिउँसभरि टन्टलापुर घाम र राति आकाशभरि तारा देखिन्छन्”, भङ्गाहा–४ रामनगरका ७८ वर्षीय किसान दीपबहादुर फुयाँल भन्नुभयो, “अहिले त महिना पनि असार हो कि होइन भनेर झस्काउने पो गरेको छु ।” असार मध्य भइसक्दासम्म राम्ररी पानी नपर्दा असारे पन्ध्र पर्वको उल्लास र रौनक कतै नदेखिएको उहाँले बताउनुभयो । धान रोप्न नपाएपछि यहाँका किसान परिवार कसरी पाल्ने भन्नेमा चिन्तित छन् ।

समयमा धान रोप्न नपाएपछि खाद्यान्न सङ्कट पर्ने चिन्ताले पिरोलेको स्थानीय जमिला खातुनले बताउनुभयो । जेठको तेस्रो साताभित्र बीउ राखिसक्ने र असार तेस्रो साताभित्र धानको मूल (शाही) रोप (धानको मूल रोप र खरुअन (कलम) रोप गर्ने चलन) रोपी सक्ने किसानको तालिका यसपालि पानीको अभावले रोकिएको उहाँको भनाइ थियो ।

असार तेस्रो साताभित्र शाहीरोप सक्ने र त्यो रोपो गाँजिएपछि उखेलेर साउन तेस्रो साताभित्र खरुअन (कलम) को रोपाइँ सक्ने धान खेतीको तालिका रहँदै आएकामा आकाशे पानी नपर्दा खेती नै सङ्कटमा पर्न सक्ने देखिएको औरही नगरपालिकाको भोइल बस्तीका किसान मोहन महतोले बताउनुभयो ।

समयमा पानी नपर्दा, धानको बीउ नपाउँदा ब्याड राख्न ढिलाइ भएको, मल पाउन नसकेको र अहिले खेतमा पर्याप्त पानी नहुँदा यहाँका किसान आकासतर्फ हेर्दै दिन बिताउँदैछन् ।

“खेतीका लागि पहिलो कुरा सिँचाइको प्रबन्ध हुनुपर्ने हो”, बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय किसान नथुनी महतोले भन्नुभयो, “बस्ती नजिकका नदी÷खोल्सी घरखेत बगाउने र बर्खे भेलले बिजोग बढाउनेमात्र छन्, बाँधपैनी (कुलो नहर) को प्रबन्ध नहुनु, बीउमल समयमा पाउन नसक्नु र सिँचाइको सुविधा नपुग्नुलगायत कारणले राम्रो खेती हुन सकेको छैन ।” सरकारले किसानलाई दिने भनिएका कृषि ऋण, अनुदान र अन्य सुविधा समयमा नपाउँदा किसान थप मर्कामा परेका उहाँको भनाइ थियो ।

महोत्तरी जिल्लामा कूल खेतीयोग्य ७१ हजार हेक्टर जग्गामध्ये करिब ५० हजार हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त मानिन्छ । पानी, बीउ, कृषि जनशक्ति र मलको अभावका कारण रोपाइँमा समस्या हुने गरेको कृषि सेवा प्रदायक सरकारी कार्यालयका कृषिविज्ञ बताउँछन् । पानीको अनुकूलता÷प्रतिकूलतामा धान खेतीको क्षेत्रफल बर्सेनि घटबढ हुने गरेको उनीहरु बताउन्छन् ।

जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र सिञ्चित रहेकाले यहाँको धेरैजसो खेती आकासे पानीमै भर पर्नुपर्ने स्थिति रहेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले बताउनुभयो । यसपालि वर्षा नहुँदा रोपाइँ अलि पछि पर्ने देखिएको उहाँको भनाइ छ ।

जिल्लामा रातु, बडहरी, ओक्सी, जङ्घा, मरहा, भब्सी, खयरमारा, बिग्ही, कुटमेश्वरी, बाँकेलगायत नदी बगे पनि ती नदीको पानी उपयोग गरी खेतबारीमा सिँचाइ गर्न नसकिएको यादवले बताउनुभयो ।

“जिल्लामा प्रत्येकजसो बस्ती छेउमै नदी बग्छन्”, एकडारा गाउँपालिकाका किसान इलियास अन्सारीले भन्नभयो, “नदीको पानी खेतमा सिँचाइका लागि व्यवस्थित गर्न नसकिँदा बर्खेभेलले घरखेत बगाउने त्रासमा बस्नु परेको छ ।” पानीकै अभावले कुनै खेती समयमा लगाउन नपाउँदा अपेक्षित उत्पादन कहिल्यै लिन नसकेको किसानको भनाइ छ ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले कृषि पहिलो प्राथमिकता रहेको बताउँदै आए पनि सिँचाइको प्रबन्ध नगर्दा किसान मर्कामा परेका छन् ।

सुक्खा, खडेरी, अल्पवृष्टि, अनावृष्टि र बाढीपहिरा, चुरेक्षेत्र र नदीमा हुने अनियन्त्रित उत्खनन्लगायत कारणले मनसुन सुरु भए पनि पानी पर्न नसकेको चुरेविज्ञ डा विजयकुमार सिंहले बताउनुभयो । “चुरेक्षेत्रका पर्वत श्रेणी ठूल्ठूला मेसिन लगाएर ढालिएका छन्, नदीहरुमा अनियन्त्रित दोहन रोकिएका छैनन, वनक्षेत्र मासिएका छन्”, उहाँले भन्नुभयो, “हामीले भोगिरहेका कृषिक्षेत्रका समस्या धेरैजसो मानव सिर्जित छन्, यिनको व्यवस्थापन र संरक्षणमा आमचासो आवश्यक छ ।”

उहाँले राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिमा विज्ञका रुपमासमेत काम गरिसक्नु भएको छ । मौसमको साथ नपाएर असार मध्य बित्दा पनि रोपाइँ गर्न नपाएपछि यहाँका किसान चिन्तित छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?