सामुदायिक वनमा जडीबुटी खेती

म्याग्दी: म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेका छन् । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) जातको जडीबुटी खेती गेका हुन् । समूहका अध्यक्ष तुलसी छन्त्यालले डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा रोपेको जानकारी दिनुभयो ।

समूहमा आबद्ध २५ जनाले सामूहिकरुपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर बिरुवा रोपेका हुन् । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुङ्गाको एक सय पाँच मिटर लामो पर्खाल निर्माण भएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले चालु आर्थिक वर्ष २०७९÷८० मा जडीबुटी खेतीका लागि रु चार लाख असी हजार सहयोग गरेको जानकारी दिनुभयो । “उपभोक्ताले कूल लागतको दश प्रतिशत लागत साझेदारी गरेका छन्”, उहाँले भन्नुभयो “प्राकृतिकरुपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत सहयोग गरिएको हो ।” यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेति विस्तार भएको हो ।

धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बाँझिएको खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयवासीको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको जानकारी दिनुभयो । “यसअघि गरिएको खेती सफल भयो । यहाँको भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ”, उहाँले भन्नुभयो, “बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।”

विसं २०७७ मा ७ हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपेका थिए । विसं २०७८ मा हिमाली कृषि सहकारी संस्थामा आबद्ध कृषकले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।

समुद्री सतहदेखि तीन हजार दुई सयदेखि तीन हजार सात सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ । यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, उत्तेजना नहुने, जुकाजस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्धतिको रुपमा अतिस प्रयोग हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?