बुलिङटारमा ‘सिँचाइ अघि, पछि कृषि’

सिँचाइ सुविधा

नवलपुर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिकामा ‘सिँचाइ अघि, पछि कृषि’ भन्ने नाराका साथ कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि कृषिमा यान्त्रिकीकरण गर्दै निर्वाहमुखी कृषिबाट स्थानीयवासीलाई व्यावसायिक कृषितर्फ प्रोत्साहन गर्न उक्त नारा अघि सारिएको गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीले बताउनुभयो ।

कृषिलाई प्रमुख प्राथमिकतामा राखेर गाउँपालिकाले काम अघि बढाएको छ भन्दै उहाँले कृषियोग्य भूमिमा वैकल्पिक प्रणालीमार्फत सिँचाइ पु¥याएर कृषकलाई व्यावसायिक कृषितर्फ आकर्षित गरिने जानकारी दिनुभयो । कम लागतमा धेरै प्रतिफल प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले पालिकाले कृषि क्षेत्रका विज्ञहरुसँग परामर्श गर्दै कृषिसम्बन्धी विभिन्न कार्यक्रम अघि बढाएको अध्यक्ष सुनारीको भनाइ थियो । गाउँपालिकाको पहाडी क्षेत्रमा सुन्तला तथा कागती खेतीको पकेट तथा जोन क्षेत्र घोषणा गरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न सङ्घ र प्रदेशसँग समन्वय गरिने उहाँले बताउनुभयो ।

बुलिङटारमा कृषि उपज तथा सङ्कलन केन्द्र निर्माण तथा व्यवस्थापन गर्दै संयोजन कार्यलाई अगाडि बढाउने तयारी गरिएको छ । पालिकाले कृषिलाई विशेष जोड दिँदै ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । “पालिकाभित्र कृषि पकेट तथा जोन कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने तयारी गरेका छौँ”, अध्यक्ष सुनारीले भन्नुभयो, “कृषि उत्पादन वृद्धि गर्न सिँचाइ अघि, पछि कृषि नाराका साथै एक गाउँ, एक उत्पादन कार्यक्रम पनि सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।”

सुखी र आत्मनिर्भर बुलिङटार बनाउन स्थानीयवासीले उत्पादन गरेको वस्तु जिल्लाका अन्य सहरी क्षेत्रमा खपत गर्न पहल गरिने भएको छ। खाद्यान्न बाली बीउमा आत्मनिर्भर गाउँ कार्यक्रम सञ्चालन गर्न बीउबिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने कृषक, कृषि समूह तथा सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्दै बजारको सुनिश्चितता गरिने जनाइएको छ । पालिकामा निर्माण गरिने तरकारी तथा फलफूल पकेट क्षेत्रबाट उत्पादन भएका वस्तु बजारीकरणका लागि कृषकको बारीमा उत्पादित वस्तु सङ्कलन केन्द्रसम्म पु¥याउन पालिका आफैँले कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेको छ ।

पालिकाभित्र कृषि फार्म दर्तालाई सर्वसुलभ बनाउँदै माटो सुहाउँदो नगदे बाली लगाउन कृषकलाई प्रोत्साहन गरिने भएको छ। पालिकाको उच्च भूभागमा सुन्तला जातका फलफूल खेती गर्न प्रोत्साहन गर्ने, करेसाबारी निर्माणका लागि आवश्यक बीउबिजन निःशुल्क उपलब्ध गराउने, स्थानीय जातका रैथाने बाली संरक्षण गर्न रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी खाद्य सुरक्षामा थप टेवा पु¥याउने तथा गरिबी निवारणको अचुक अस्त्रका रुपमा कृषिलाई प्रयोग गरिने नीति लिइएको पालिका अध्यक्ष सुनारीले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?