रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ

धान रोपाई

तिलोत्तमा:रुपन्देही जिल्लामा असार महिनाको अन्तिम हप्तासम्म ३६हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ । जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

गत वर्षसम्म यो समयमा जम्मा ४२ प्रतिशत जमिनमा धान रोपाइँ भएकामा अहिले ५७ प्रतिशत भएको उक्त केन्द्रका सूचना अधिकारी अनिल बानियाँले बताउनुभयो । गतवर्षभन्दा अहिले असार १५ मै पानी परेका कारण रोपाइँ तुलनात्मकरूपमा धेरै भएको उहाँको भनाइ थियो ।

जिल्लाभार सिँचाइ सुविधा ७० प्रतिशत जमिनमा पुगेको देखिए पनि यहाँको पुराना सिँचाइ आयोजना र कुला मर्मत नहुँदा कागजमा मात्र सीमित देखिन्छ । तोकिएजति सिँचाई नहुनुमा भौलाभुजा सिँचाइ आयोजना, छत्तिस कुलोलगायत धेरै पुराना सिँचाइ आयोजना र कुलो मर्मत नहुँदा क्षमताअनुसारको सिँचाइ पु¥याउन समस्या भएको हो । तिलोत्तमा नगरपालिका– १० कान्छी बजारका किसान रामबहादुर थापाले सिँचाइ नहँुदा समयमा रोपाइँ गर्न नसकिएको बताउनुभयो ।

उहाँले बोरिङको पानीबाट धान रोपाइँ गर्दा लागत धेरै लाग्ने भएकाले आकासे पानी नै कुर्नु परेको गुनासो गर्नुभयो । सैनमैना नगरपालिका–६ का किसान बाबुराम चौधरीले बीउ राख्ने बेलामै पानी ढिलो परेका कारण बल्ल रोपाइँ गर्नुपरेको बताउनुभयो । उहाँले सिँचाइ नहुँदा आकासे पानीको भर पर्नुपरेको छ भन्नुभयो ।

जिल्लाका पुराना सिँचाइ र कुलो मर्मतका लागि समयमै ध्यान दिनुपर्ने र त्यसका लागि सबैले पहल गनुपर्ने जिल्ला कृषि ज्ञान केन्द्रमा प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments