चैते धान रोप्ने किसानलाई सहयोग

गण्डकी: चैते धान र व्यावसायिक तरकारी खेती गर्ने पोखरा महानगरपालिका वडा नं २६ र २७ का किसानलाई महानगरको कृषि महाशाखाले प्रोत्साहन रकम वितरण गरेको छ । दुवै वडाका गरी कूल चार सय १६ किसानलाई आइतबार वडाध्यक्ष, महानगरका प्रतिनिधिलगायतको उपस्थितिमा प्रोत्साहन रकम बाँडिएको हो ।

वडा नं २६ मा चैते धान खेती गर्ने दुई सय ९५ किसानलाई रु आठ लाख ३८ हजार नौ सय ६८ र व्यावसायिक तरकारी खेती गर्ने चार किसानलाई रु तीन लाख ३२ हजार एक सय ५० प्रदान गरिएको हो ।

वडा नं २७ मा चैते धान लगाउने एक सय दुई किसानले रु तीन लाख ४८ हजार एक सय ५० र तरकारी खेतीमा लागेका १५ किसानले रु तीन लाख ७८ हजार छ सय १३ बुझेका थिए । चैते धान खेती गर्ने किसानलाई प्रति रोपनी रु नौ सयका दरले प्रोत्साहन रकम दिइएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । तरकारीतर्फ प्लास्टिक घर (टनेल)मा खेती गर्नेलाई प्रति वर्गमिटर रु एक सय ३० र तरकारीको क्षेत्र विस्तार गर्नेलाई प्रति रोपनी रु दुई हजारका दरले प्रदान गरिएको हो ।

महानगरले चलाएको ‘एक वडा, एक पकेट कार्यक्रम’अन्तर्गत चैते धान विस्तारका लागि वडा नं २६ र २७ का किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको कृषि महाशाखा प्रमुख कडरियाले बताउनुभयो । “चैते धान खेतीको क्षेत्रफल घट्दै जान थालेपछि हामी यसको प्रवद्र्धन गर्नुपर्छ भनेर लाग्यौँ, गत वर्षदेखि उन्नत जात लगाउन सुरु भएको छ, उत्पादन बढेपछि किसान पनि खुसी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “चैते धान खेती विस्तारमा किसानलाई आकर्षित गर्न प्रोत्साहनको कार्यक्रम ल्याइएको हो, यसले निरन्तरता पाउँछ ।”

उत्पादनमा आधारित प्रोत्साहन रकम दिन थालेपछि वास्तविक किसानलाई लाभ मिलेको महाशाखा प्रमुख कडरियाले उल्लेख गर्नुभयो । महानगरले चैते धान, गहुँ, सुन्तला, उखु, तरकारी, आलु, मौरीपालनलगायतलाई लक्ष्य गरी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखरा–२६ मा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका बागलुङका कर्ण पुनले महानगरले दिएको प्रोत्साहन रकमले आफूलाई हौँसला मिलेको प्रतिक्रिया दिनुभयो । उहाँले रु एक लाख ५१ हजार प्रोत्साहन रकम प्राप्त गर्नुभएको थियो । पुनले १७ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएको छ ।

“तरकारी खेतीलाई अझ विस्तार गर्ने सोचमा छु, कृषि व्यवसायबाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “मेहनत गर्ने हो भने वर्षमा रु दस÷बाह्र लाख कमाउन विदेश जानु पर्दैन, कृषिमा खटेर लाग्नेलाई सरकारले पनि हेर्छ, अनुदान आउँछ ।” पुनले खेतीयोग्य जग्गा नासिँदै गएकामा भने चिन्ता व्यक्त गर्नुभयो । वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले किसानको हितमा वडाबाट पनि सक्दो कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले प्रोत्साहन रकमसँगै किसानलाई सिँचाइलगायतका सुविधा र प्रविधिको खाँचो रहेको उल्लेख गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?