फलैँचामा फस्टाउँदो आलु खेती, कोल्ड स्टोर नहुँदा समस्यामा किसान

हिले:धनकुटाको छथरजोरटी गाउँपालिका–२, फलैँचाका चन्द्रकुमार सारूमगर बर्सेनि आलु खेती गर्नुहुन्छ । उहाँ बन्दा, मुला, मटरकोसासँगै केही वर्षयता निरन्तर आलु खेती गर्दै आउनुभएको छ ।

उहाँले अरू बालीलाई भन्दा आलुलाई बढी प्राथमिकता दिने गर्नुभएको छ । त्यसको कारण मूल्य नपाउने समस्या नहुनु । “बन्दा, मुला, मटरकोसा आदि बालीको मूल्य कहिलै स्थिर हुँदैन तर आलुले मूल्य नपाउला भन्ने समस्या हुँदैन,” मगर भन्नुहुन्छ । उहाँले भन्नुभयो, आलु प्रतिकिलो थोरै मूल्य हुँदा पनि ३० देखि ३५ रुपियाँमा बारीबाटै बिक्री हुन्छ । राखेर अलिपछि बिक्री ग¥यो भने ५० देखि ६० रुपियाँसम्म मूल्य पाइन्छ ।

सब्जी खेतीमा लागेका कृषक मूल्य र बजार स्थिर नहुँदा बर्सेनि समस्यामा पर्ने गरेका छन् । कहिले उत्पादन नै नहुने तथा उत्पादन हुँदा मूल्य नपाउने समस्यामा बर्सेनि कृषक समस्या भोग्न बाध्य छन् । तर आलु भने केही वर्ष यता स्थिर रहेको स्थानीय बताउँछन् । मूल्य केही कम भएपछि घाटै लागिहाल्ने अवस्था हुँदैन । माग जहिले पनि उस्तै हुने स्थानीय इन्द्र सारुमगर बताउनुहुन्छ । हामी बारीमा खन्दै गर्दा नै राजमार्गमा ओहोरदोहोर गर्ने यात्रु आएर माग्नुहुन्छ खनिसक्दा बिक्री हुन्छ । ‘आलु खेतीमा कुनै समस्या छैन’ उहाँ भन्नुहुन्छ । त्यसो त आलु स्टोर गर्ने कोल्ड स्टोर निर्माण गर्न सके बेसिजनमा आलु निकाल्न सकिने र अझ बढी मूल्य लिन सकिने उहाँको बुझाइ छ ।

सिजनमा त हामी बेच्छौँ तर अफसिजनमा महँगो मूल्यमा आफैँले आलु किनेर खानुपर्ने अवस्था छ । “कोल्ड स्टोर निर्माण गर्न सके हामी हाम्रै उत्पादन स्टोर गर्ने थियौँ र अफसिजनमा निकाल्ने थियौँ,” उहाँ भन्नुहुन्छ ।

त्यसो त यस क्षेत्रमा आलु खेती नयाँ भने होइन । पहिले अन्य बाली उत्पादन नहुँदा समेत आलु मात्र उत्पादन हुन्थ्यो । त्यही आलु बेँसीमा लगेर धानसँग साटेर वर्षभरि खाद्यान्नको जोहो गर्नुपर्ने अवस्था थियो ।

धनकुटामा यातायात नचल्दासम्म यहाँ उत्पादन भएको आलु बेँसी लगेर धानसँग साट्नुपर्ने तथा स्थानीय बजारमा मात्र बिक्री गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था रहेको स्थानीय बुढापाका बताउँछन्  तर अहिले अवस्था फरक छ । आलु जति उत्पादन गरे पनि बिक्री हुने गरेको स्थानीय गोविन्द सारुमगर बताउनुहुन्छ । मगर भन्नुहुन्छ, “पहिले धेरै समस्या थियो वर्षभरिलाई खर्च पुग्ने गरी पनि उत्पादन गर्न पाइँदैनथ्यो सीमित उत्पादन गर्नु पथ्र्यो तर अहिले जति पनि बिक्री हुन्छ ।”

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments