भारतबाट अवैध रूपमा आयात हुने दुध रोक्न पहल

दूध उत्पादन

काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल अध्यक्ष रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले भारतसँग जोडिएका विभिन्न सीमा नाकाबाट अवैध रूपमा भित्रिरहेको दुध तथा दुग्धजन्य पदार्थलाई रोक्न सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले किसानको आफ्नै दुध पर्याप्त भइरहेका बेला भारतबाट अवैध रूपमा आयात भइरहेको छ र त्यसलाई कृषि मन्त्रालयमार्फत अनुगमन गरी रोक्नका लागि पहल गरिने निर्णय भएको बताउनुभयो । अवैध रूपमा आइरहेको दुधलाई कृषि मन्त्रालयले मात्र रोकेर रोकिँदैन, यसका लागि अर्थ मन्त्रालय, उद्योग र गृह मन्त्रालयले चासो दिए मात्र सम्भव रहेको उहाँले बताउनुभयो ।

यी निकायसँग चाडै कुरा गरेर अवैध आयातलाई रोक्नका लागि कृषि मन्त्रालयले पहल गर्ने विश्वास आफूले लिएको बताउनुभयो ।

किसानसँग खरिद गरिरहेको दुधलाई निरन्तता दिई बढी भएको दुधलाई कन्भर्जन गरी धुलो दुध बनाउनका लागि सम्बन्धित दुग्ध उद्योगलाई अनुरोध गर्ने निर्णयसमेत भएको उहाँले बताउनुभयो । दुध तथा दुग्धजन्य पदार्थको उपभोग बढाउन बोर्डलगायत सरोकारवाला निकायबाट प्रचार प्रसार गर्ने, बोर्डको नेतृत्वमा पशु सेवा विभाग, खाद्य तथा गुण नियन्त्रण विभाग र सरोकारवाला निकायको संलग्नतामा दुग्ध उद्योगहरूको अनुगमन गर्ने निर्णयसमेत भएको उहाँले बताउनुभयो ।

दुग्ध विकास संस्थानलगायत अन्य दुग्ध उद्योगहरूले किसानलाई भुक्तानी गर्नुपर्ने रकम यथाशीघ्र उपलब्ध गराउनका लागि सम्बन्धित दुग्ध उद्योगलाई अनुरोध गर्ने साथै, दुध तथा दुग्धजन्य पदार्थ भारत, बङ्गलादेशलगायतका देशमा निर्यातका लागि आवश्यक पहल गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यस्तै हाल मौज्दात रहेको दुग्ध पदार्थको मूल्याङ्कन गरी दुग्ध उद्योगीहरूलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनका लागि सहजीकरण गर्न आवश्यक पहल गर्ने पनि बोर्डको बैठकले निर्णय गरेको छ । आजको गोरखापत्र अनलाइनमा खबर छ ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?