किसानलाई पाडापाडी हुर्काउन र दूध उत्पादन बढाउन अनुदान

तनहुँ: भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले किसानलाई पाडापाडी हुर्काउन १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । केन्द्रले गएकाे आर्थिक वर्ष २०७९/८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।

गएकाे आवमा एक सय ६० किसानलाई जनही १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, ‘पाडापाडी हुर्काउने कार्यक्रमअन्तर्गत किसानसँग आवेदन माग गरेको केही दिनमै अत्यधिक आवेदन आएको थियो, सबैलाई दिन सकेनौँ । केहीलाई मात्रै दिएका छौँ, बाँकी आवेदकलाई चालु आवमा दिन्छौँ ।’

गएकाे वर्षको मागका आधारमा चालु आवमा पाँच सय पाडापाडी हुर्काउनका लागि अनुदान दिने व्यवस्था मिलाइने श्रेष्ठको भनाइ छ । डा श्रेष्ठका अनुसार जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि कृषकले अनुदान पाउने व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम अगाडि बढाएको थियो ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा अनुदानको व्यवस्था गरिएको केन्द्रको भनाइ छ । हामीकहाँ मुर्रा जातका भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । केन्द्रका प्रमुख डा श्रेष्ठले भन्नुभयो, ‘अनुदान पाएपछि किसानले हुर्काउँछन्, यसले दीर्घकालीन रूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।’

यसैगरी कार्यालयले दूध उत्पादनका आधारमा कृषकलाई अनुदान रकम वितरण गरेको छ । गएकाे आवमा केन्द्रले किसानलाई ३६ लाख रुपैयाँ वितरण गरेको थियो । केन्द्रले आठ सहकारी संस्थामार्फत किसानलाई अनुदान वितरण गरेको हो । प्रतिलिटर  दुई दशमलव ४५ रुपैयाँका दरले अनुदान वितरण गरिएको डा श्रेष्ठले बताउनुभयो । 

व्यास नगरपालिका–१० मा रहेकाे दुम्सी दुग्ध उत्पादक सहकारी, शेवर दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१३ मा रहेकाे बेलवास दुग्ध उत्पादक सहकारी, भानु नगरपालिका–४ मा रहेकाे प्रगति दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१ मा रहेकाे चारकुने दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–५ मा रहेकाे चिन्तुटार दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१३ मा रहेकाे पोखरीभञ्ज्याङ दुग्ध उत्पादक सहकारी र बन्दीपुर गाउँपालिका–५ मा रहेकाे याम्पा दुग्ध उत्पादक सहकारी संस्थामार्फत अनुदान वितरण गरिएको हो । 

अनुदानले किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएको र जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको उहाँको भनाइ छ । डा श्रेष्ठले भन्नुभयो, ‘उत्पादनका आधारमा अनुदान दिँदा कृषकमा हौसला बढेको छ । पहिला कम उत्पादन गर्नेले अहिले धेरै उत्पादन गर्न थाल्नुभएको छ ।’

बन्दीपुर गाउँपालिका–१ का कृषक भोजनाथ पराजुलीले प्रदेश सरकार, स्थानीय सरकारमार्फत दूधमा अनुदान पाउँदा पशुपालन गर्न हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादनका आधारमा अनुदान पाउँदा व्यवसायमा लगानी थप्न सहयोग मिलेको छ ।’

कार्यालय तथा सरोकारवाला निकायले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्ष यता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११८ दशमलव ५४ लिटर उपलब्धता छ । 

त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यक पर्नेमा ९४ दशमलव ४१ केजी मासु उपलब्धता छ । साथै ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा अण्डा उपलब्धता छ । यो हिसाबले प्रति व्यक्तिका लागि दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशलमव ४९ केजी र अण्डामा ३४ दशमलव ५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments