कागतीको बिक्री नहुँदा कृषक समस्यामा परेपछि बजार खोजी गर्दै ज्ञान केन्द्र

दमौली:तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति (रासस) बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो ।

कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल बजार समितिको कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिनुभयो ।

उहाँले फलफूल समितिको कार्यकारी निर्देशक डिपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती विक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कागतीले बजार नपाएपछि किसान समस्यामा परेकाले बजारको सहजीकरणको पहल गरेका हौ । छलफल सकारात्मक भएको छ ।”

छलफलका क्रममा गुणस्तरीय कागती उत्पादन हुन सके फलफूल बजारले कागती खरिद गर्ने विषयमा सहमति समेत भएको छ । समितिको कार्यकारी निर्देशक पुडासैनीले यहाँ दैनिक १५ हजार कागतीको माग रहेको र अधिकांश कागती भारतबाट आउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “९५ प्रतिशत भारतीय कागती आउँछ, नेपाली कागती आउन सके किसानले राम्रो मूल्य पाउन सक्छन् ।”

कागतीका मुख्य व्यवसायी शर्माका अनुसार कालीमाटी तरकारी बजारमा किसानले कागती विक्री गर्दा प्रति किलो रु एक सयदेखि रु एक सय २० प्राप्त गर्न सक्नेछन् । उहाँका अनुसार टिपेको चार÷पाँच दिनसम्म ल्याउँदा मूल्य राम्रो पाउने र त्यसपछि ल्याएको कागतीको गुणस्तर कम हुने भएकाले मूल्यमा समस्या हुने गरेको छ ।

देवघाट देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभएको छ । विदेशबाट फर्किएर कागती खेती सुरु गर्नुभएका उहाँले कागती विक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौं भन्ने भावनासहित यो पेशामा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।”

पाँच वर्ष अगाडीदेखि कागती खेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्ष यता कागती विक्री गर्न थाल्नुभएको छ । गत वर्ष पहिलो पटक रु ७० हजारको कागती विक्री भएको उहाँले बताउनुभयो । यो वर्ष सात सय केजी विक्रीका लागि तयार भएका छन् ।

भारतबाट आउने कागतीका कारण स्थानीय स्तरमा उत्पादित कागतीले बजार नपाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौं भन्ने लक्ष्य सहित लागेको छु, बजार नपाउँदा निराश भएपनि आँट मारिसकेको छैन ।”

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा कागतीखेतीतर्फ कृषकको आकर्षण बढेको छ । केन्द्रले कागती खेती कृषकलाई बगैंचासम्म पुगेर आवश्यक परामर्श दिने गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्ला रु २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागती खेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ ।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?