सरकारले पचास हजार मेट्रिक टन चिनी खरिदको तयारी

काठमाडौँ:सरकारले चिनीको भाउमा देखिएको अनियमितता र मनलाग्दी रूपमा कायम गरिएको मूल्य नियन्त्रण गर्न चिनी खरिदको तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिलेको मूल्य र नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी गरेको हो ।
सरकारले नेपाल र भारतीय सरकारबिच (जिटुजी) मार्फत समझदारी गरेर चिनी खरिद गर्ने गरी तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले ५० हजार मेट्रिक टन चिनी खरिदका लागि तयारी गरेको छ ।
व्यापारीहरूले नेपालमा उत्पादित चिनी सकिएको र भारतलगायतका अन्य देशबाट आयात हुने चिनीमा लाग्दै आएको ४० प्रतिशत अतिरिक्त भन्सार महसुल र बढेको ढुवानी भाडा तिरेर नेपालमा उत्पादित चिनीको दरमा बिक्री गर्न नसक्ने भन्दै मूल्य बढाउन परेको दाबी गर्दै आएका छन् ।
बजारमा अहिले चिनीको थोक मूल्य प्रतिकेजी ९९ रुपियाँ र खुद्रा मूल्य १०५ देखि ११० रुपियाँमा कारोबार भइरहेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार विगत १५ दिनयता चिनीको भाउ थोकमै प्रतिकेजी ९९ रुपियाँ पुगेको छ ।
सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले चिनी उद्योगीले बजारमा चिनीको अभाव देखाएर अझै बढाउन चलखेल हुन सक्ने भएकाले छिटो चिनी खरिद गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारी तहबाट चिनी खरिद भएमा हाल व्यापारीले चिनीमा जुन मनोमानी गरिरहेका छन्, त्यो पनि अन्त्य हुने र चिनीको भाउ पनि सस्तो हुने उहाँको भनाइ छ ।
सरकारको अनुदानमा चिनी खरिद गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले गएका दुई आर्थिक वर्षदेखि चिनी खरिदमा अनुदान पाएको छैन । अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच सहमति नहुँदा चिनी खरिद हुन सकेको थिएन । यस पटक भने मुख्यसचिव वैकुण्ठ अर्यालको नेतृत्वमा भएको बैठकले चिनी खरिदको तयारी भएकाले चिनी आउनेमा उपभोक्ता अधिकारकर्मी पनि विश्वस्त छन् ।
यो वर्ष एक लाख मेट्रिक टन चिनी उत्पादन कम भएको उद्योगीको भनाइ छ । देशमा वार्षिक दुई लाख ४० हजार मेट्रिक टन चिनीको माग रहेकामा यो वर्ष एक लाख टन मात्र उत्पादन भएको चिनी उत्पादक सङ्घको तथ्याङ्क छ ।
देशमा वार्षिक दुई लाख ४० हजार मेट्रिक टन माग रहे पनि गत वर्षदेखि नै उत्पादनमा कम आएको थियो । उद्योगीका अनुसार गत वर्ष नै ८० हजार मेट्रिक टन कम उत्पादन भएको थियो । बजारमा केही समयदेखि चिनीको मूल्य बढेको छ । बजारमा प्रतिकेजी १०५ देखि ११० रुपियाँ खुद्रा मूल्य रहेको छ । खुद्रा व्यवसायीले पसलपिच्छे फरक फरक मूल्य लिँदा उपभोक्तालाई प्रत्यक्ष असर परेको छ ।आजको गोरखापत्र अनलाइनमा खबर छ ।