भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात कर
काठमाडौँ: भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ ।
प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो ।
अब नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ । भारतले हरेक वर्ष मुख्य चाडपर्व नजिकिँदै गएपछि प्याजको निर्यातमा अवरोध गर्दै आएको छ ।
अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६० रुपैयाँ हाराहारीमा छ । नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ ।
भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ ।
