किसान भन्सार छली ल्याएको मल किन्न बाध्य,११० बोरा अवैध मल बरामद

नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको वडा नम्बर ३ बाट प्रहरीले १ सय १० बोरा रासायनिक मल (युरिया) बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर गोदाम गरी राखिएको अवस्थामा युरिया बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार स्थानीय साधु चमारको घरबाट ७० बोरा र मोतीराम यादवको घरबाट ४० बोरा युरिया मल बरामद भएको हो । बरामद भएको मल प्रहरीले महेसपुर भन्सारमा बुझाएको छ ।

किसानले जिल्लामा धान गोडिसकेको अवस्थामा अहिले मलको आवश्यकता छ। सरकारले प्रर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा भारतबाट भन्सार छली गरेर ल्याएको मल किन्न किसान बाध्य छन् ।

किसानलाई मल आवश्यक भएपछि सीमावर्ती क्षेत्रमा भारतबाट ल्याएर गोदाम गर्ने र जिल्ला बाहिर पठाउने गर्दछन् । तर, भारतबाट तस्करले ल्याउने मलको गुणस्तरबारे किसान जानकार नहुँदा गुणस्तरमा  ठगिने गरेका छन् ।

तस्करहरूले एक दुई बोरा गरेर ल्याएर मल गोदाम गरिदिँदा एक दुई बोरा मल ल्याउने किसानहरू समेत मर्कामा पर्ने गरेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments