‘मधेशलाई सुख्खा क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउने भनेको थिएँ, त्यही दिन बाढी आयो’-प्रचण्ड
काठमाडौं: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शुक्रबार) समाजवादी मोर्चाको भेलालाई वीरगञ्जमा सम्बोधन गर्दै सरकारले किसान, मजदुरहरुको पक्षमा काम गरिरहेको बताए ।
मधेशी जनताको समस्याप्रति आफू गम्भीर रहेको बताउँदै उनले त्यहाँका जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । मधेशमा लामो खडेरी पर्दा त्यहाँका जनताले भोग्नुपरेको पीडा आफूले महशुस गरेको उनको भनाई छ । उनले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरेर पीडित किसानलाई राहतको व्यवस्थापन गर्ने तयारीमा रहेको बेला पानी परेको बताए ।
‘अस्ती क्याविनेट बैठकमा प्रस्ताव बनाएर मैले मुख्य सचिवलाई भनिसकेको थिएँ, आजको क्याविनेटबाट मधेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेर मधेशको निम्ति राहत प्याकेज घोषणा गर्ने भनेको थिएँ । अब यो विधिको कुरा त्यही दिन पानी आएर बाढी बाढी भएछ,’– उनले भने ।
