आज यी ठाउँमा चट्याङ सहित भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

भारी वर्षा

काठमाडौं:हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभावका कारण हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै रातिसम्म कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूवाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?