बङ्गुरपालन किसानलाई अनुदान दिइँदै

गलकोट (बागलुङ):अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बङ्गुर गत जेठमा मरेपछि बङ्गुरको खोर रित्ता भएका छन् ।

किसान बङ्गुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले उनीहरुलाई व्यवसायमा पुनःस्थापन गर्ने भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रका ५४ किसानले पालेको ती बङ्गुर मर्दा दुई करोडभन्दा बढीको क्षति भएको जनाइएको छ । उनीहरुलाई पुनः बङ्गुरपालन व्यवसायमा फर्काउनका लागि केन्द्रले चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेटले खाली रहेको बङ्गुरका खोरमा पुनः बङ्गुर पाल्नका लागि बङ्गुरका पाठा प्रदान गर्ने र बङ्गुरपालन व्यवसायमै किसानलाई फर्काउने केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम शर्माले जानकारी दिए । केन्द्रको तथ्याङ्क अनुसार भने प्रयोगशाला परीक्षणमा अमेरिकन स्वाइन फिवर फेला परेको पाँच किसानको एक सय २२ बङ्गुर मरेको देखिन्छ । केन्द्रले उक्त रोगबाट चार सय बङ्गुर मरे पनि एक सय २२ बङ्गुरको मात्रै प्रयोगशाला परीक्षण गरिएको जनाएको छ ।

“जेठमा महामारीको रुपमा अमेरिकन स्वाइन फिवर फैलियो, बागलुङ बजार क्षेत्रमा धेरै बङ्गुरपालन किसान छन्, उनीहरुको खोर रित्तै हुने गरी बङ्गुर मरे, बङ्गुरपालन किसानले करोडौँको क्षति बेहोर्नुप¥यो, सबै क्षतिको राहत दिन त सकिँदैन, कम्तीमा पुनः बङ्गुरपालनमा फर्काउनका लागि बङ्गुरका पाठा दिने कार्यक्रम छ”, पशु चिकित्सक सापकोटाले भने, “बङ्गुरपालन किसान पलायन हुनसक्ने जनाउँदै उनीहरुलाई पुनःस्थापनका लागि बङ्गुरमै बजेट व्यवस्थापन गरेका हौँ, अहिले पशुको अधिकांश बजेट भौतिक संरचनाभन्दा पशुमै बढी केन्द्रित छौँ, अहिले बङ्गुरका पूर्वाधार खाली छ, त्यही पूर्वाधारमा बङ्गुरका पाठा हुर्काउन सके किसान पुनः व्यवसायमा पुनस्थापित हुने थिए भन्ने हो ।”

बङ्गुरपालक किसान गणेशबहादुर पुनले अमेरिकन स्वाइन फिवरका कारण यहाँका किसानले ठूलो क्षति बेहोरेको बताए । उनले उक्त सङ्क्रमण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा मात्रै देखिएको बताउँदै पुनः बङ्गुरपालनमै फर्काउनका लागि केन्द्रले ल्याएको नीतिप्रति आभारी रहेको जानकारी दिए । “किसानको क्षतिमा स्थानीय सरकार र विज्ञ केन्द्रलाई पटक–पटक ध्यानाकर्षण गरेका थियौँ”, बङ्गुरपालन किसान पुनले भने, “राहत र अनुदानका लागि आश्वासनसमेत आएको छ, विज्ञ केन्द्रले १६ लाख बजेट व्यवस्थापन गरेको भन्ने जानकारी पाइयो ।”

बङ्गुरपालिएको क्षेत्रलाई सङ्क्रमण मुक्त बनाएर बङ्गुरका पाठा वितरण गर्ने विज्ञ केन्द्रको तयारी छ । बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बङ्गुर तथा जङगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिवर’का यहाँका बङ्गुरपालन किसान निरास भएका थिए । बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बङ्गुर पाल्दै आएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले दूध, मासु र अण्डाको उत्पादन बढाउनका लागि चार करोड बजेट विनियोजन गरेको छ । चालु आवमा लम्पी स्किन रोगका कारण दूधको उत्पादनमा गिरावट र अमेरिकन ‘स्वाइन फिवर’का कारण बङ्गुरको मासुको उत्पादनमा कमी आएको बताए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले चालु आवमा बाँझो जग्गामा घाँस खेती गर्न १८ लाख, दूधको उत्पादनमा प्रोत्साहन गर्न २४ लाख, कृतिम गर्भाधान गर्न २५ लाख, खसीबोकाको मासुको उत्पादनका आधारमा अनुदान दिन २० लाख बजेट विनियोजन गरेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?